बुधबार, बैशाख १९, २०८१

ओली भ्रष्टाचारका महान नायक हुन् : सांसद रायमाझी

काठमाडौं । राष्ट्रियसभामा नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली राजनेता नभएको बताएका हुन् । राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै रायमाझीले ओलीलाई भ्रष्टाचारका महान नायक भएको आरोप लगाएका हुन् ।

ओली नेतृत्वको सरकार भ्रष्टाचार गर्नमा लागेको र असंवैधानिक शासन चलाउन उद्धत भएपछि बाध्य भएर कांग्रेस सरकारको नेतृत्व गर्न जानु परेको उनले बताए । उनले भने, ‘केपी शर्मा ओली भ्रष्टाचारका महान नायक हुन्। कांग्रेसले ओली सरकारलाई दुई वर्षसम्म आँखा चिम्लेर समर्थन गरेको थियो । तर ओली सरकार पटक पटक भ्रष्टाचारमा डुब्यो। कोभिडका बेला झन् ठूलो भ्रष्टाचार भयो। केपी शर्मा ओली भ्रष्टाचारको महान् नायकलाई तह लगाउन पाँच दलीय गठबन्धन बनेको हो।’

उनले ओलीका पालमा अर्बौं भ्रष्टाचार भएको पनि टिप्पणी गरे।  उनले भने,‘कोभिड महामारीमा स्वास्थ्य सामग्री खरिदमा अर्बौं भ्रष्टाचार भएको छ। त्यसमा संलग्नलाई कारबाही होस् । गोकर्ण रिसोर्टमा अर्बौं रुपैयाँ भ्रष्टाचार भएको भन्दा  मलाई सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइयो। ओलीले यति होल्डिङलाई मुलुक जिम्मा लाउँथे तर उनले समय नपाएर मात्रै त्यो सम्भव नभएको हो।’