बुधबार, बैशाख १९, २०८१

झ्यालबाट होइन, असाधारण जनमतका साथ मूलढोकाबाट फेरि प्रधानमन्त्री बनेर आउँछुः केपी ओली

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू फेरि असाधारण जनमतका साथ प्रधानमन्त्री हुने दाबी गरेका छन् । मंगलबार प्रतिनिधिसभाको बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले झ्यालबाट नभई असाधारण जनमतका साथ मूलढोकाबाट प्रधानमन्त्री हुने दाबी गरेका हुन् ।

उनले भने,‘ म यो देश र देशका जनताको सेवाका निम्ति जन्मिएको ठान्छु । म प्रधानमन्त्री हुन जन्मिएको होइन । काम गर्दै जाँदा प्रधानमन्त्री भएको हुँ । प्रधानमन्त्री त म ६४ वर्षसम्म थिएनँ । भइयो । अहिले जालझेल गठबन्धनको संस्कृतिले हटाएको हो । म भेन्टिलेसन, झ्यालबाट नभई मूलढोकाबाट मूलगेटबाट आउनेछु । सुनिराख्नु भएहुन्छ । मूलढोकाबाट असाधारण जनमतबाट प्रधानमन्त्री हुन्छु ।’

उनले सुखी नेपाली समृद्ध नेपालको नारा लिएर हिँडेको मान्छेलाई गालीगलौजले केही असर नगर्ने उनले बताए । उनले आफ्नो सरकारको गन्तव्य स्पष्ट र राज्य संचालन गर्दा अपनाउनु पर्ने संयम अपनाएको दाबी गरे ।

उनले भने, ‘आफूले कुनै अपवित्र ढंगले पार्टी एकता नगरेको । राम्रो उद्देश्यले गरेको हो । प्रतिपक्षसँग पनि सम्मान ढंगले व्यवहार गरेको थिएँ । सहकार्य गर्दै हिँड्ने नीति लिएको हो । सरकारको गन्तव्य स्पष्ट थियो । राज्य संचालन गर्दा अपनाउनु पर्ने संयम अपनाएको हो । संविधान बमोजिम राज्य संचालन हुनुपर्छ । पूर्वाग्रह र संयमहिनताबाट बाहिर रहनुपर्छ भनेर हिँडेको । उपयुक्त ठाउँमा उपयुक्त व्यक्तिको नियुक्ति गरेको थिएँ । नातावाद कृपावादको छायाँ नपर्ने गरी नीति लिएको थिएँ । यसले कसैको इच्छा र लाभमा धक्का पुग्यो ।’ आफूले लोकप्रिय कामले कसैको छाती जलेको भन्दै उनले त्यसबाट पार्टीभित्र समस्या निम्तिएको बताए । । उनले भने,‘भ्रष्टाचार गर्दिन र अरुलाई पनि दिन्न भन्ने नीतिले कतिलाई धक्का पुगेकाले पार्टीभित्रै समस्या निम्तियो ।’

उनले सर्वोच्चको परमादेशबाट सरकार गठन भएको भन्दै आक्रोश पोखे । उनले अदालत विश्वमा नयाँ नजिर स्थापित गरेको आरोप लगाए ।

उनले भने, ‘मेरा काम हेरेर नेपाली जनताले मत दिएका हुन् । म विभिन्न पार्टीका नेताहरुका इष्र्याबाट प्रधानमन्त्री भएको होइन । न उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री आएको हो । म कुनै जाली मुद्दा जितेर प्रधानमन्त्री भएको होइन । म परमादेशबाट होइन जनादेशबाट आएको हुँ । मैले पाएको जिम्मेवारी जनताबाट पाएको हो । नयाँ नजिर कायम भएको छ अदालतबाट प्रधानमन्त्री । अदालतलाई धेरै विवादमा नल्याउन सत्ता पक्षलाई आग्रह गर्दछु । त्यसको इतिहासले मूल्यांकन गर्नेछ । एकछिन संसदमा छौं । कहिले कहिले मान्छेले मर्छु भन्ने पनि विर्सन्छ र दम्भ बढ्छ । म त्यसो गरिरहनु आवश्यक ठान्दिन । प्रधानमन्त्रीबाट हट्नु परेकोमा कुनै चिन्ता छैन । चिन्ता अदालत जस्तो सबैले विश्वास गर्नुपर्ने अंगले सीमा उल्लंघन नहोस् भन्ने हो ,। लोकतान्त्रिक प्रणालीका अंगहरु आफ्नो सीमामा बसेर काम गरुन् । सुशासनको बाटो समातिसकेको देश गठबन्धनका संस्कृति तिर गएकोमा हो ।’