मङ्गलबार, चैत ०६, २०८०

नबिल बैंक र खेती एप बीच कृषि कर्जा सम्झौता, किसानलाई सहज वित्तीय सहयोग गर्ने

काठमाडौं । खेती एपमा आबद्ध भएर व्यवसायिक कृषिमा काम गरिरहेका किसानले अब नबिल बैंकबाट सजिलै कर्जाको सुविधा पाउने भएका छन् । यसका लागि नबिल बैंक र डीभी एक्सिलस (खेती एप)बीच सम्झौता भएको छ ।
खेती फार्म प्लेटफर्ममा दर्ता भएका किसानहरुलाई लागि कृषि साधन, रसायन, मेसिनरी खरिदका लागि सहज वित्तीय सेवा दिन सम्झौता गरिएको दुवै संस्थाले जनाएका छन् । सम्झौतापत्रमा नबिल बैंकका सीइओ अनिल केशरी शाह र डी भी एक्सिलसका निर्देशक देवेश प्रधानले हस्ताक्षर गरेका छन् ।

कार्यक्रममा नबिल बैंकका नायब प्रमुख कार्यकारी अधिकृत सुजितकुमार शाक्य, प्रमुख एसएमई तथा लघुवित्त निरज बस्नेत, डीभी एक्सिलसका मुख्य संचालन अधिकृत किरण नायर, मुख्य प्रविधि अधिकृत सुभाष भट्टराईलगायतको उपस्थिति थियो । नबिलका प्रमुख कार्यकारी अधिकृत शाहले दिगो बैकिङलाई प्राथमिकता दिइरहेको नबिलले कृषि क्षेत्रमा लगानी गरेर दिगो विकासलाई सहयोग पुर्‍याउने बताए ।

‘देशको कुल गार्हस्थ उत्पादनको प्रमुख योगदान गर्ने क्षेत्र कृषि हो । हामी डीभी एक्सिलसगको यस सहकार्यमा कृषकहरुको आवश्यकता अनुसार कर्जा दिएर उत्पादन क्षमता बढाउदै आर्थिक विकासमा सघाउन चाहन्छौं,’ उनले भने, ‘समाजमा स्वस्थ र स्वच्छ तथा अर्गानिक उत्पादनको पहुँच पुर्‍याउने अभियानमा सहकार्य गर्न पाउदा उत्साहित छौं।’ यस रणनीतिक साझेदारीले किसानहरुलाई गुणात्मक बीउ र मल सुनिश्चित गर्न तथा सहज वित्तीय पहुँच प्रदान गर्न सजिलो हुने जानकारी कार्यक्रममा दिइयो।

सहकार्य अन्तर्गत खेती एपको माध्यमबाट कृषकहरुलाई डिजिटल कर्जा प्रदान गरिनेछ । उक्त एपमा १० हजार किसान, ३ हजार उपभोक्ता, एक सयभन्दा बढी रेस्टुरेन्ट र होटलहरु आबद्ध भइसकेको जनाइएको छ ।