शुक्रबार, बैशाख १४, २०८१

चितवनको भरतपुरमा गोली हानी एक युवकको हत्या

चितवन । चितवनको भरतपुर महानगरपालिका–१७ मानसिंह चोक नजिकै रहेको सिमडाँडा खेतको नहरमा एक युवक मृत फेला परेका छन् । उनको टाउकोमा गोली लागेको र नजिकै खोकासमेत भेटिएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक ओमप्रसाद अधिकारीका अनुसार अन्दाजी ३० वर्षका युवक मृत फेला परेका हुन् । उनको टाउकामा गोली लागेको जस्तो घाउ देखिएको छ । नजिकै गोलीको एउटा खोका पनि भेटिएको उनले जानकारी दिए ।

बिहान अबेर मात्र घटनाका विषयमा जानकारी प्राप्त भएको जनाउँदै उनले मृत पुरुषको सनाखत भई नसकेको बताए । सो क्षेत्रमा प्रहरीले शव निकालेर घटनाको अध्ययन थालेको छ ।