शनिबार, बैशाख ०८, २०८१

भेरी अस्पतालमा भएको घटनाको छानबिन गर्न सात सदस्यीय समिति गठन

काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले नेपालगञ्जस्थित भेरी अस्पतालमा स्वास्थ्यकर्मी मािथ भएको आक्रमणको निन्दा गरेका छन्। महामारीका बेला जोखिम मोलेर काम गर्ने स्वास्थ्यकर्मीमाथि आक्रमण हुनु दुःखद भएको उल्लेख गर्दै देउवाले घटनाको निन्दा गरेका हुन् ।

घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाहीको मागसमेत देउवाले गरेका छन्। उनले भनेका छन्, ’नेपालगञ्जस्थित भेरी अस्पतालका डाक्टर र नर्सहरुमाथि आक्रमण हुनु निकै निन्दनीय कार्य हो। यो महामारीका बेला ठूलो जोखिम लिएर स्वास्थ्यकर्मीहरु बिरामीको उपचारमा दिनरात खटेका छन्। स्वास्थ्यकर्मीमाथि भएको यो घटनाको तत्काल छानविन गरी आक्रमणमा संलग्नमाथि कडा कारवाही गर्न माग गर्दछु।’

त्यस्तै, नेकपा माओवादी केन्द्रले पनि नेपालगंज स्थित भेरी अस्पतालमा डाक्टर र नर्सहरु माथि भएको कुटपिट जस्तो अमानवीय व्यवहार प्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सामाजिक संजालमार्फत घटनाप्रति खेद प्रकट गरेका हुन् । उनले भनेका छन्, ‘हाम्रो पार्टीले स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा आफ्नो स्वास्थ्यलाई ख्याल नगरि अहोरात्र खट्टिएका स्वास्थ्यकर्मी माथि नै सांघातिक हमला गर्ने जो कोहीलाई पनि कानुनी कारवाही गरियोस् भनि माग पनि गर्दछ।’

यसैबीच, बिहीबार राति भेरी अस्पतालमा दाङका एक सङ्क्रमितको उपचारका क्रममा मृत्यु भएपछि आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गरेका थिए ।

गत जेठ ४ गते अस्पतालमा भर्ना भएका दाङका कोरोना सङ्क्रमित बिरामी अवस्था गम्भीर भएपछि चिकित्सकले भेन्टिलेटरमा राखेर उपचार गर्ने क्रममा गए राति करिब ८ बजे मृत्यु भएपछि स्वास्थ्यकर्मीको लापरवाहीले मृत्यु भएको भन्दै आफन्तले आक्रमण गरेको भेरी अस्पताल विकास समितिका अध्यक्ष प्रमोद धितालले जानकारी दिए ।

उनका अनुसार मृतकका आफन्तले भेन्टिलेटरमा राखेका कारण बिरामीको मृत्यु भएको भन्दै डा चन्द्रप्रकाश साहु र नर्सहरू अस्मिनी गुरुङ र सदीक्षा गैरैमाथि हातपात गरेका हुन् । मृतकका छोरा र दुई भाइले ड्युटीमा रहेका चिकित्सक साहु र नर्समाथि हातपातको प्रयास गरेपछि तनाव भएको थियो ।

बिरामीको अवस्था गम्भीर रहेकाले चिकित्सकले भेन्टिलेटरमा राखेर बचाउने प्रयत्न गर्दागर्दै बिरामीको ज्यान गएको उनको भनाइ छ । बिरामीको मृत्युपछि आक्रोशित आफन्तले स्वास्थ्यकर्मीमाथि आक्रमण गर्नुका साथै अस्पतालको आइसीयूकक्षमा तोडफोड गरेका छन् ।

ड्युटीमा खटिएका बेला आफूमाथि हातपात भएपछि अस्पतालभित्र स्वास्थ्यकर्मीको भागाभाग भएको अस्पतालका नर्सिङ अधिकृत शीला शर्माले जानकारी दिइन्  । घटनामा चार नर्सिङ स्टाफ र एक चिकित्सक घाइते भएका छन् । । घटनालगत्तै प्रमुख जिल्ला अधिकारी शिवराम गेलाल, प्रहरी उपरीक्षक ओमबहादुर रानालगायतको टोली अस्पतालमा पुगेको थियो ।

अस्पतालमा कार्यरत नर्सहरूले सुरक्षाको ग्यारेन्टी र दुव्र्यवहार गर्नेलाई कारवाही हुनुपर्ने माग राखेका छन् । चिकित्सक र नर्समाथि आक्रमण गर्ने तीन जना मृतकका आफन्तलाई गए राति नै प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयमा राखेको बाँकेका प्रहरी उपरीक्षक ओमबहादुर रानाले जानकारी दिए ।

घटनाको छानबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी शङ्कर विष्टको संयोजकत्वमा सात सदस्यीय छानबिन समिति गठन गरिएको छ । नेपाल नर्सिङ सङ्घ बाँकेकी अध्यक्ष लक्ष्मी केसी वलीले भेरी अस्पतालमा शृङ्खलाबद्धरूपमा स्वास्थ्यकर्मीमाथि भएका आक्रमणका घटनाले काम गर्ने वातावरण नभएको बताउँदै घटनामा संलग्न दोषीमाथि कारवाही गरी स्वास्थ्यकर्मीलाई शान्तिपूर्ण वातावरणमा निर्भिकताका साथ काम गर्ने वातावरण मिलाउन माग गरेकी छन् ।