शनिबार, बैशाख ०८, २०८१

महामारीबाट मानवलाई सुरक्षित बनाउन प्रयासरत छौँ : प्रम ओली

काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले महामारीबाट मानवलाई  सुरक्षित बनाउन सरकार प्रयासरत भएको बताउनुभएको छ । राष्ट्रिय मानव अधिकार आयोगको २२ औँ स्थापना दिवसका अवसरमा आज आयोजित भर्चुअल कार्यक्रममा उहाँले सरकारले नागरिकको जीवन बचाउनका लागि निरन्तर प्रयास गरिरहेको बताउनुभयो ।  “महामारीलाई ध्यानमा राखेर मानिसको बाँच्न पाउने र स्वास्थ्य अधिकारको रक्षा कसरी गर्ने भन्ने विषयमा सरकार सजग छ”, प्रधानमन्त्री ओलीले  भन्नुभयो, “सरकार लागिरहेको छ, जनताको ज्यान सबैभन्दा महत्वपूर्ण हो।” उहाँले नागरिककै जीवन रक्षाका लागि रु ३००÷४०० पर्ने अक्सिजन सिलिण्डर चीनबाट एउटैलाई रु ५० हजार तिरेर ल्याइएको र  खोप उत्पादन गर्ने देश नभए पनि भारतपछि नेपालले लगाउन पाएको  जानकारी दिनुभयो ।

प्रधानमन्त्री ओलीले कसैको पनि मानव अधिकारको हनन हुन नपाओस् भनेर  स्थापनाकालदेखि नै मानव अधिकार आयोगलाई स्वतन्त्र र  स्वायत्त ढंगले काम गर्न दिनका लागि सरकार सदा सजग रहेको बताउँदै आयोगको ऐन संशोधनलाई प्राथमिकतामा राखिएको जानकारी पनि दिनुभयो । आयोगले सरकारलाई गरेको सिफारिसप्रति ध्यान दिइएको जनाउँदै उहाँले सरकारले आफ्ना प्रतिबद्धता कार्यान्वयन गर्दै आएको र दिगो विकासका लक्ष्यको घरेलुकरणका साथै कार्यान्वयनमा जोड दिएको स्पष्ट पार्नुभयो ।प्रधानमन्त्री ओलीले हिंसा अन्त्य गरी मानवाधिकारमा सुधार गर्नका लागि संगठित समूहबाट हुने मानवाधिकार उल्लंघनका घटना नियन्त्रणका लागि सरकारले ध्यान दिएको जनाउँदै सामाजिक न्याय, र  सम्मानपूर्वक बाँच्न पाउने सुरक्षा प्रत्याभूतिमा सरकारले काम गरिरहेको बताउनुभयो ।सो अवसरमा आयोगका अध्यक्ष तपबहादुर मगरले मानव अधिकारको रक्षाका लागि आयोगले सरकारलाई गरेका सिफारिशको प्रभावकारी ढंगले कार्यान्वयन गर्नुपर्नेमा जोड दिनुभएको थियो ।