शुक्रबार, बैशाख १४, २०८१

म मदन-आश्रितको बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छुः वामदेव गौतम

काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले मदन भण्डारी र जीवराज आश्रितको नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका छन् ।

सोमबार २८ औं मदन–आश्रित स्मृति दिवसका अवसरमा उपाध्यक्ष गौतमले मदन–आश्रितले देखाएको बाटोमा हिँड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त भई सहकार्यको दिशामा अग्रसर हुनु भएपनि आज उनीहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोजेको बताएका हुन् ।

उनले यसका निम्ति आ–आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट मुक्त हुन जिम्मेवार नेताहरुलाई आग्रह गरेका छन् ।

गौतमले भनेका छन्, ‘आज पनि म उहाँहरूले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको छु। यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु।’