हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घण्टामा गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । सरकारले कोरोना महामारीविरुद्ध लड्न आइपर्ने कानुनी अड्चनलाई फुकाउने भएको छ । आइतबार कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी)को बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महामारी नियन्त्रणका लागि संक्रामक रोग ऐन २०२० पर्याप्त नभएको भन्दै आवश्यक तयारी गर्न सम्बद्ध निकायलाई निर्देशन दिएका हुन् ।

परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीका अनुसार बैठकमा प्रधानमन्त्रीले कानुनी अड्चनका कारण जनता मर्ने अवस्था आउन दिन नहुने बताए । प्रधानमन्त्री ओलीले कानूनी प्रक्रिया तथा आर्थिक स्रोत अभावले कुनै पनि नागरिकको ज्यान जान नहुने पनि बताए ।

प्रधानमन्त्रीले प्रक्रिया र आर्थिक स्रोत अभावले कुनै नागरिकको ज्यान जान नहुने र हप्तामा हुने काम दिनमा र दिनमा हुने काम घण्टामा गर्न र्यापिड रेस्पोन्स टिम बनाउन परे बनाएर काम गर्न निर्देशन दिए ।

त्यस्तै प्रधानमन्त्री ओलीले अक्सिजन, खोपलगायतका अत्यावश्यकीय वस्तुहरुका लागि तत्काल काम थाल्न निर्देशन दिएका छन् । बैठकले कोरोना संक्रमण नियन्त्रण तथा रोकथाममा नीजि क्षेत्रको समेत सहभागितामा आवश्यक व्यवस्थापन गर्ने निर्णयसमेत गरेको छ ।

बैठकमा बाधा अड्चन हटाउने तथा अक्सिजन उत्पादन बढाउने, त्यसका लागि उद्योगीहरुसँग सहकार्य गर्ने, लिक्विड अक्सिजन आयात बढाउन भारतसँग आग्रह गर्ने, सिलिण्डरहरुको व्यवस्थापन गर्ने लगायतका विषयमा छलफल भएको छ । मन्त्री ज्ञवालीले अक्सिजन अभाव हुन नदिन चीन र ओमनबाट मगाइरहेको सिलिण्डर आएकाले अब अभाव नहुने बताए ।

बैठकमा स्वास्थ्य संकटकालका बारेमा समेत छलफल भएको तर तुलनात्मक रुपमा स्वास्थ्य संकटकाल लगाउँदा के के काम हुन्छ भन्ने अध्ययन भइरहेको मन्त्री ज्ञवालीले जानकारी दिए । बैठकले समग्र स्वास्थ्य प्रणालीलाई महामारीका विरुद्ध लगाउन जरुरी भएको निश्कर्ष निकालेको छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: