शुक्रबार, बैशाख १४, २०८१

एनआरएनए जापानको अध्यक्षमा यस कारण मेरो उम्मेद्धारी : पौडेल (मेरो प्रतिवद्धता )

आदरणीय जापानवासी सम्पूर्ण नेपाली दिदी/बहिनी तथा दाजुभाईहरुमा हार्दिक नमन !

बिगत लामो समयदेखि गैरआवासीय नेपाली संघ(एनआरएनए )जापानमा आबद्ध भई सक्रिय रुपमा काम गर्दै आइरहेको कुरा यहाँ हरुलाई अवगतनै छ । अब,यो सँस्थाको आगमी कार्यकाल (सन २०२१ ~२०२३ )को लागि मेरो उम्मेदवारी अध्यक्ष पदमा रहने जानकारी गराउन पाउँदा मैले असाध्यै गौरव महसूस गरेको छु । हजुरहरुको माया साथ सपोर्ट, सल्लाह,सुझाव लिएर यो सँस्था उचाईमा पुर्याउँदै, जापानवासी गैरआवासीय नेपालीहरुको सुखदुखको सहयात्री बन्दै सकेजति मिहिनेत गर्नेछु । साथै स्वदेशको लागि बिभिन्न माध्यम प्रयोग गरि सम्भव भए सम्म बिकासका काम र योजनामा मेरो सहयोग रहने छ । तपाईहरुले म प्रति देखाउनुभएको सहयोग र सद्भभाबको लागि हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो उम्मेद्धारीको प्रमुख कारण भनेको हजुरहरुको माया र हौसला हो ।
यदि आउदो निर्वाचनमा तपाईहरुको साथ सपोर्ट र माया सहित नेतृत्वमा पुग्न सकेमा म, निम्न बमोजिमका योजनाहरुका साथ एनआरएनए जापानलाई नयाँ उचाईमा पुर्याउनका लागि प्रतिवद्ध रहनेछु ।

१. नेपाल र जापान दुई देश बीचको सामाजिक भाईचाराको सम्बन्ध अभिवृद्धि गराउँदै सिर्जनात्मक कार्यकमहरु संग – संगै आर्थिक विकासलाई पनि महत्व दिई दुई देश बीच आर्थिक साझेदारी(जापान बसाई सक्काएर नेपाल गएकाहरुले पनि नेपालबाटै पेन्सन लिन सकिने व्यवस्था लगायतका) सम्झौता (EPA )गर्न क्रियाशिल रहनेछु ।

२. माथि १ नम्बर बुँद मा उल्लेखित (EPA) को सम्झौता गर्न समय लाग्न सक्ने अबस्था भएमा जापानको आम्दानीलाई दोहोरो कर नलाग्ने गर्नको लागि जापान र नेपाल बिचमा DTA (double tax agreement) गर्न पहल गर्ने छु।

३.जापान सरकारले अल्पबिकसित राष्ट्रहरुको नागरिकहरु लाभान्वित हुनेगरी बनाईएका सुबिधा तथा नीतिका बारेमा जानाकारी गराउँदै प्रवासी नेपालीहरूले अन्तर्राष्ट्रीय संघसंस्था बाट पाउने सुविधा बारेमा अवगत गराउने तथा उक्त सेवा सुविधा लिनकालागि एनआरएन जापान मार्फत गर्न समन्वयत्मक भूमिका निर्वाह गर्नेछु ।

४.जापानमा हाल कायम नेपाली मजदुर तथा व्यवसायीहरु बिचमा भएका ( कार्यावधी तथा तलब सुविधाहरु लागायतका)समस्याहरु समाधानका लागि सकृयरुपमा पहल गर्नेछु ।

५. जापान अन्तर्राष्ट्रिय सहयोग एजेन्सी (जाईका )लगायतका जापानी प्रोजेक्टहरुसंगको साझेदारीमा नेपालमा सिपमूलक कार्यक्रम संचालनका प्रकृया अघि बढाउनेछु ।

६. जापानको अध्ययन तथा रोजगारीका क्षेत्रहरुसंग सम्बन्धित विभिन्न विज्ञहरु सम्मिलित सेमिनारहरु आयोजना गरि, विद्यार्थी तथा पढाई सकेर रोजगारीका खोजीमा रहेका नेपालीहरुलाई सहजीकरण गर्नेछु ।

७. कोभिड १९ नियन्त्रण तथा प्रसार रोकथाममा जापान सरकार तथा जापानमा विकसित प्रबिधीहरु नेपाल लैजान मध्यस्थ गर्नेछु ।

८. एनआरएनए जापानमा आवद्ध हुन चाहनेहरुलाई बाह्रै महिना सदस्यता लिन सकिने प्रणालीको विकास गर्नेछु ।

९.एनआरएनएलाई आर्थिक रुपमा पारदर्शि बनाउनको लागि आर्थिक विवरण संस्थाको वेवसाईट, फेसबुक लगायत सार्वजनिक माध्यममा त्रैमासिक अवधिमा सबैले थाहा पाउनेगरि खुल्ला तरिकाले सार्वजनिक गर्ने छु। प्रत्येक बैठक लगाएत आर्थिक गतिबिधि र वार्षिक प्रतिवेदनहरु सँस्थाको होमपेजमा अपडेट गर्नेछु।

१०. जापानमा नेपाली समुदायभित्र हुने गरेका महिला हिंसालाई निर्मूलीकरण गर्नको लागि सम्वन्धित निकायहरुसंग समन्वय र पीडितलाई सक्दो सहयोग पुर्याउनेछु।

११. नेपाली राजदूतावास लगायत अन्य संघसंस्थाहरु सँगको सम्बन्धलाई अझै चुस्त – दुरुस्त बनाउन प्रयत्न गर्नेछु।

१२. मर्दा/पर्दा गरिने सामाजिक सहयोग र कामलाई पारदर्शी बनाउँदै नेपालमा सम्बन्धित परिवारजनलाई अधिकतम सहयोग पुर्याउन पहल गर्नेछु ।

१३.जापानमा नेपाली/ईन्डियन रेस्टुरेन्टहरुमा क्रियाशिल कुक पेशामा कार्यरत नेपालीहरुको क्षमता अभिवृद्धिका लागि सम्बन्धित क्षेत्रका दक्ष कुकहरुबाट तालिम तथा पुनर्ताजगीका कार्यक्रमहरु संचालन गर्नेछु ।

१४.व्यवसायीहरुको व्यवसायलाई अभिवृद्धि गर्न आवश्यक नीति तथा कार्यक्रमहरुको खोजि गर्नेछु ।

१५. खेल तथा स्वास्थ्यलाई मध्यनजर गर्दै जापान तथा नेपालमा हुने बिभिन्न खेलकूदका कार्यक्रम तथा खेलाडीहरूलाई प्रोत्साहन र सहयोगको लागि पहल गर्नेछु।

१६. बिभिन्न नेपाली कम्पनीहरुसंग समझदारी (MOU) गरी उक्त कम्पनीहरुबाट नेपाली विद्यार्थीहरुलाई छात्रवृत्ति प्रदान गर्न प्रोत्साहन गर्ने पहलकदमीको सुरुवात गर्नेछु ।

१७. जापानी विज्ञहरुको सहयोग लिदै NPO ‘होउजिन’ मा रहेको हाम्रो संस्था ( गैरआवासीय नेपाली संघ जापान)लाई जापानका स्थानीय निकायहरुसंग सहकार्य र समन्वय गर्ने कार्यको थालनी गर्नेछु ।

१८. नेपालको पर्यटन तथा मौलिकतालाई जापानी समुदायमा पुर्याउने प्रभावकारी अवसर ‘नेपाल फेस्टिवललाई’ पारदर्शी र व्यवस्थित बनाउँदै हरेक वर्ष उहि समय र उहि स्थानमा गराउनका लागि नेपाल फेस्टिवल स्थायी आयोजक समिति बनाउनेछु ।

१९. भाषागत समस्याहरुलाई सम्बोधन गर्दै जापानका विद्यालय तथा कम्पनीहरुमा नेपालीहरुले भोग्नुपरेका विभिन्न अप्ठ्याराहरुलाई न्युनिकरण गर्न, स्थानीय निकाय र जापानमा रहेका बहुभाषी केन्द्रहरुसंग समन्वय र सहयोग लिई नेपाली समुदायलाई लाभ पुर्याउने खालका काम गर्नेछु ।

२०.हाल कायम आकस्मिक राहत कोषको अभिवृद्धि गर्नेछु।

२१. जापानमा हासिल गरेको ज्ञान, सिप, पूँजी, अनुभव र दक्षतालाई मातृभूमि लैजान आवश्यक भूमिका निर्वाह गर्नेछु ।

२२. जापानका विभिन्न प्रान्तहरुमा रहेका नेपालीहरुमा आईपर्ने समस्याहरुमा सम्बोधनका लागि आवश्यक क्षेत्रमा हेल्पडेस्क सञ्चालन गराउनेछु।

२३.जापानबाट नेपालमा लगानी तथा पर्यटक भित्र्याउनको लागि प्रभावकारी कार्यक्रमहरुको आयोजना गर्नेछु।

२४. जापानवासी नेपालीहरुको भरोसा र आश्थाको केन्द्रको रुपमा सबैलाई अपनत्व महशुस हुने गरी एनआरएन जापानलाई जनस्तरमा स्थापित गराउनेछु।

शिवप्रसाद पौडेल
अध्यक्ष पदका प्रत्यासी
एनआरएनए जापान २०२१/२०२३