हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच मर्जर सम्झौता

काठमाडौं । हिमालयन बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकबीच आपसमा गाभिने मर्जर सम्झौता भएको छ। बिहीबार दुई बैंकबीच भएको प्रारम्भिक सम्झौता अनुसार मर्जरपछि बन्ने बैंकको नाम ‘हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक’ रहने हिमालयन बैंकका अध्यक्ष तुलसीप्रसाद गौतमले जानकारी दिए।अहिले नामको विषयमा मात्रै सहमति भएको उनले बताए। दुई बैैंक मर्जरपछि बन्ने हिमालयन एण्ड नेपाल इन्भेष्टमेन्ट बैंक चुक्ता पुजीको आधारमा नेपालकै ठूलो बैंक बन्नेछ । यद्यपि, यी बैंकहरु कहिलेसम्ममा मर्ज भई एकीकृत कारोबार गर्ने भन्ने यकीन भइसकेको छैन ।हिमालयन बैंकका अध्यक्ष गौतम सकेसम्म चाडो एकीकृत कारोबार हुने गरी काम अघि बढ्ने बताउँछन्।

सबैभन्दा ठूलो बैंक बन्ने

दुई बैंक आपसमा गाभिएपछि नेपालमा वाणिज्य बैंकको संख्या २६ मा झर्नेछ। दुई बैंक एक भएपछि कुल चुक्ता पुँजी करिब २७ अर्ब रुपैयाँ पुग्ने छ।बिहीबार दुबै बैंकले जारी गरेको संयुक्त विज्ञप्तिमा मर्जरपछि बैंकको निक्षेप ३ खर्ब ११ अर्ब रुपैयाँ पुग्नेछ भने कर्जा २ खर्ब ८७ अर्ब रुपैयाँ पुग्नेछ । यसैगरी शाखा संख्या १५२ र कर्मचारी संख्या २५ सय भन्दा बढी पुग्नेछ।मर्जरपछि बन्ने बैंकको सञ्चालक समितिमा दुबै बैंकको तर्फबाट ३÷३ जना सञ्चालक नियुक्त हुने र नयाँ सञ्चालक समितिले स्वतन्त्र सञ्चालकको नियुक्ति गरी जम्मा ७ जनाको सञ्चालक समिति हुनेछ।मर्जरपछि संस्थाको पूँजी वृद्धि, कार्य क्षेत्र तथा कार्य क्षमतामा अभिवृद्धि हुनुका साथै सबल बैंकको रुपमा वित्तीय बजारमा स्थापित हुने लक्ष्य राखिएको विज्ञप्तिमा उल्लेख छ।

यसरी जुट्यो सहमति

हिमालयन बैंक राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शमशेर जबराको अगुवाइमा स्थापना भएको बैंक हो। अहिले पनि उनकै परिवारको निर्णय बैंकमा लागू हुन्छ। बैंकको प्रमुख कार्यकारी अधिकृत हिमालयका छोरा अशोक शमशेर छन्। हिमालय शमशेर बैंकको प्रमुख सल्लाहकारको रुपमा सञ्चालक समितिमा छन् ।
उता नेपाल इन्भेष्टमेन्ट बैंकमा पुराना बैंकर पृथ्वीबहादुर पाँडे अध्यक्ष र ज्योति प्रकाश पाँडे प्रमुख कार्यकारी अधिकृत छन्। पाँडे परिवार र राणा परिवारबीच पारिवारिक सम्बन्धसमेत रहेका कारण यी दुई बैंकहरु मर्जरमा जान सहज भएको हो ।अहिले हिमालयन बैंकको अध्यक्ष रहेका गौतम कर्मचारी सञ्चय कोषको प्रतिनिधित्व गर्दै अध्यक्ष भएका हुन् । यसकारण मर्जरपछि पाँडे नै प्रमुख कार्यकारी अधिकृत हुने गरी भद्र सहमति भएको छ । मर्जरपछि बन्ने बैंकको प्रमुख कार्यकारी हिमालयनका अशोक राणा र डेपुटी प्रमुख कार्यकारी ज्योति प्रकाश पाण्डे हुने दुई पक्षबीच सहमति छ ।बैंकको नेतृत्वमा कुनै समस्या देखिएको छैन । मर्जरका लागि अर्को महत्वपूर्ण कुरा भनेको स्वाप रेसियो हो । मर्जरपछि बन्ने बैंकमा कुन बैंकको सेयर हिस्सा कति हुने भन्ने विषयमा समेत सहमति जुटिसकेको छ ।मर्जर सम्झौता अगावै यी बैंकहरुको सम्पत्ति तथा दायित्व मूल्यांकन डीडीए रिपोर्ट तयार गरिएको थियो । रिपोर्टले एक बराबर एककै हाराहारीमा स्वाप रेसियो हुनसक्ने प्रतिवेदन तयार गरेको छ । अर्थात दुबै बैंकको एक कित्ता सेयर बराबर मर्जर पछि बन्ने बैंकको पनि एक कित्ता नै सेयर हुनेछ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: