मङ्गलबार, बैशाख ०८, २०८३

प्रधानमन्त्रीले विश्वासको मत लिन राष्ट्रपतिद्वारा वैशाख २७ गते संसद अधिवेशन आह्वान

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीको विश्वासको मत लिने प्रयोजनका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले संसद अधिवेशन आहवान गरेकी हुन् ।

राष्ट्रपति विद्यादेवी भण्डारीले वैशाख २७ गते सोमबार दिउँसो १ बजे प्रतिनिधि सभा बैठक आहवान गरेकी हुन् । मन्त्रिपरिषद्को आइतबार बसेको बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मत लिने जानकारी गराएका थिए ।

त्यसका लागि प्रतिनिधि सभाको अधिवेशन वैशाख २७ गते बोलाउन सरकारले सिफारिस गरेको छ । नेपालको संविधानको धारा १०० (१)मा प्रधानमन्त्रीले कुनै पनि बखत आफूमाथि प्रतिनिधि सभाको विश्वास छ भन्ने कुरा स्पष्ट गर्न आवश्यक वा उपयुक्त ठानेमा विश्वासको मतका लागि प्रतिनिधि सभा समक्ष प्रस्ताव राख्न सक्ने व्यवस्था छ ।

सरकारलाई समर्थन गरेको नेकपा माओवादी केन्द्रले समर्थन फिर्ताको निर्णय नलिए पनि प्रधानमन्त्रीले विश्वासको मत लिने निर्णय लिएका हुन् ।