लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त

काठमाडौँ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा शंकर पोखरेल पुनः नियुक्त भएका छन् । प्रदेश प्रमुख धर्मनाथ यादवले पोखरेललाई संविधानको धारा १६८ को उपधारा १ बमोजिम आइतबार मुख्यमन्त्रीमा नियुक्त गरेका प्रदेश प्रमुखको कार्यालयका प्रवक्ता चिरञ्जीवी पौडेलले जानकारी दिए । पोखरेलले आइतबार नै मुख्यमन्त्री पदबाट राजीनामा दिएका थिए ।

यसअघि नेपाल कम्युनिष्ट पार्टी एमाले लुम्बिनी प्रदेश संसदीय दलका नेता पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा १६८ को उपधारा (१) बमोजिम सरकार गठन गर्न प्रदेश सभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेका थिए ।

प्रवक्ता पौडेलले विज्ञप्ति जारी गर्दै नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलका पोखरेलले आफ्नो नेतृत्वमा नेपालको संविधानको धारा ६८ को उपधारा १ बमोजिम सरकार गठन गर्न प्रदेशसभाका बहुमत सदस्यहरुको हस्ताक्षरसहित प्रदेश प्रमुख समक्ष दावी पेश गरेकाले उनलाई मुख्य मन्त्रीमा नियुक्त गरेका जनाएका छन् ।

पोखरेलले आजै पदबाट राजीनामा दिए लगत्तै एकल बहुमतको सरकार गठनका लागि ४१ सदस्यीय सांसदको हस्ताक्षरसहित दावी प्रस्तुत गरेका थिए । त्यसलगत्तै हस्ताक्षर गरेकी प्रदेशसभा सदस्य विमला केसी माओवादीतिर लागेको खुलेको थियो । त्यसपछि उनी पुनः मुख्यमन्त्री बन्न सकस रहेको बताइएपनि उनलाई प्रदेश प्रमुखले मुख्यमन्त्री नियुक्त गरेका हुन् ।

फेसबुकबाट तपाइको प्रतिक्रिया

%d bloggers like this: