शुक्रबार, बैशाख १४, २०८१

पर्सामा कोरोना संक्रमणले ७३ घण्टामा १२ संक्रमितको मृत्यु

वीरगंज (पर्सा) । पछिल्लो समय कोरोना संक्रमणको केन्द्रविन्दू बनेको पर्सामा कोरोनाबाट मृत्यु हुनेको संख्या उल्लेख्य वृद्धि भएको छ । कोरोना पुष्टि भएर उपचारका लागि नारायणी अस्पतालमा भर्ना भएका संक्रमितमध्ये बुधबार विहानदेखि हालसम्म ५ जनाले ज्यान गुमाइसकेका छन् ।

पछिल्लो ७२ घण्टामा मात्रै नारायणी अस्पतालमा १२ जना कोरोना संक्रमितले ज्यान गुमाएका छन् । यस तथ्याङ्कले पर्साको अवस्था भयावह हुँदै गइरहेको देखाउँछ ।

सोमबार ३ जना, मंगलबार ४ जना र बुधबार ५ जना गरी १२ जनाले ज्यान गुमाइसकेका छन् । मृत्यु हुनेमा सबै गम्भीर किसिमका निमोनियाबाट ग्रसित रहेको नारायणी अस्पतालले जानकारी दिएको छ ।

शुरुमा ज्वरो आउने, टाउको दुख्नेलगायतका सामान्य लक्षण देखिँदा मौसमी रोग भनेर लापरवाही गर्ने परिपाटीका कारण अवस्था गम्भीर भएपछि अस्पताल आवत–जावत गर्ने गरेको कारण पनि संक्रमितहरुलाई बचाउनका लागि समस्या भइरहेको चिकित्सकहरुले जानकारी दिए ।

एक साता यता पर्सा जिल्लामा कोरोना संक्रमितहरुको संख्या बढेसँगै नारायणी अस्पतालमा उपचाररत कोरोना संक्रमितहरुको मृत्युदर पनि उकालो लागेको छ । कोरोना पुष्टि भएपछि उपचारका लागि अस्पताल आएका संक्रमितहरुलाई उचित उपचार, स्याहार सुसार नपाउँदा अकालमै ज्यान गुमाउनु पर्ने अवस्था छ ।

नारायणी अस्पतालको इमर्जेन्सी वार्डलगायत आईसीयूसहित ९० बेडको कोरोना अस्पताल सञ्चालन गरिएको छ, तर व्यवस्थित हुन नसक्दा एउटै बेडमा दुईदेखि तीन जना संक्रमितहरुलाई राख्नुपर्ने अवस्था छ ।

यसैगरि कोरोना संक्रमण पुष्टि हुनेहरुको संख्या पनि तीब्र गतिमा बढ्दै गएको छ । यही मंगलबार मात्रै पर्सामा ९६ जना कोरोना संक्रमित थपिएका छन् । नारायणी अस्पतालमा गरिएको पीसीआर परीक्षणमा २ सय १० जनाको स्वाब परीक्षण गर्दा १ सय २४ जनामा संक्रमण पुष्टि भएको छ ।

जसमा पर्साको मात्रै ९६ जना रहेको नारायणी अस्पतालका कोभिड कोर्डिनेटर डा. सरोजरोशन दासले जानकारी दिए । यसैगरि सोमबार १ सय ४० जनाको पीसीआर परीक्षण गर्दा ७६ जनामा संक्रमण पुष्टि भएको थियो, जसमा पर्साका मात्रै ६४ जना रहेका छन् ।

नेपाल–भारत खुल्ला सिमानाको भार पनि वीरगन्ज लगायत पर्सा जिल्लाले खेप्नु परिरहेको कारण र आम नागरिकहरुले कोरोनाविरुद्धको मापदण्डलाई पूर्ण रुपले पालना गर्न नसक्नुको कारण पनि पर्सा दिनप्रति दिन कोरोना संक्रमणको केन्द्र विन्दू बन्दै गएको छ ।

हालसम्म पर्सामा ४ हजार १ सय ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ, जसमा ३ हजार १ सय ९९ जना निको भएर घर फर्किसकेका छन् भने ६९ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

कोरोना संक्रमण पुष्टि भएकाहरुमध्ये ५ सय ६८ जना पुरुष तथा २ सय ९२ जना महिला गरी ८ सय ६० जना संक्रमित होम आइसोलेशनमा छन् ।