शुक्रबार, बैशाख ०७, २०८१

कोभिड संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने सरकारको आँकलन

काठमाडौं । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले कोभिड–१९ संक्रमणको दोस्रो लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको बताएका छन् ।

सोमबार टेलिभिजन कार्यक्रम ‘अर्थको अर्थ’ को २८औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा अर्थमन्त्री पौडेलले नेपालमा कोभिड–१९ को संक्रमण डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलन गरिएको भन्दै नागरिकको जीवन र जीविकाको रक्षा गर्ने विषय सरकारको सर्वाधिक प्राथमिकतामा रहेको बताएका हुन् ।

जनजीविकाको रक्षा गर्दै आर्थिक सामाजिक जीवनलाई पुरानै लयमा फर्काउनुपर्ने अवस्था आएको पनि उनले बताए । उनले भने, ‘कोभिडको दोस्रो लहर दुनियाकै सामुन्नेमा चुनौतिको रुपमा देखा परेको छ । हामीकहाँ पनि यसको लहर डरलाग्दो ढङ्गले फैलन सक्ने आँकलनहरु गरिएको छ । हामीले अब कोभिडबाट नागरिकको जीवन रक्षा गर्ने विषय र जीविकाको रक्षा गर्ने विषय यतिबेला राष्ट्रको सामुन्नेमा सर्वाधिक प्राथमिकताको/सरोकारको विषय बन्न पुगेको छ । जीवनको रक्षा र जीविकाको रक्षा गर्दै हामीले आर्थिक, सामाजिक जीवनलाई परानै लयमा फर्काउने र गतिशिल बनाउँदै उन्नति, समृद्धिको यात्रा तय गर्ने विशिष्ट अवस्थामा छौं ।’

अर्थमन्त्री पौडेलले कसैले पनि लापरबाही गर्न नहुने बताए । सरकारले सबै प्रकारका सम्भाव्य उपायहरु अवलम्बन गरेर कोभिड विरुद्धको लडाईलाई जित्न चाहेको उल्लेख गर्दै उनले यसका निम्ति आमनागरिक र सबै संघसंस्थाहरुको सहयोग आवश्यक पर्ने बताए । संक्रमण विश्वव्यापी रुपमा फैलिएको कारण खोपको आपूर्तिमा पनि चुनौती थपिएको उनले बताए ।