शुक्रबार, बैशाख १४, २०८१

जिम्मेवारी सम्हालेको करिब एक वर्षपछि ओहोदाको प्रमाणपत्र

काठमाडौँ । चीनका लागि नेपालका राजदूत महेन्द्रबहादुर पाण्डेले आज चिनियाँ राष्ट्रपति सी चिन फिङ्गसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् । कार्यभार सम्हालेको झण्डै नौ महिनापछि राजदूत पाण्डेले औपचारिकरुपमा आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

कोरोना महामारीका कारण पाण्डेलगायत राजधानी बेइजिङ्ग पुगेका ३१ देशका राजदूतहरुले ओहोदाको प्रमाणपत्र लामो समयसम्म बुझाउन पाएका थिएनन् । बेइजिङ्गस्थित जनवृहत सभाभवन (ग्रेट हल अफ द पिपुल)मा एक समारोहका बीच राष्टपति सी चिन फिग समक्ष राजदूत पाण्डेले आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेको राजदूताबासद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

राष्ट्रपति सीले प्रमाणपत्र पेस बुझेपछि संक्षिप्त कुराकानी गर्दै समकक्षी विद्यादेवी भण्डारीप्रति शुभेच्छा प्रकट गरेका थिए । राष्ट्रपति भण्डारीको शुभकामना सन्देश राजदूत पाण्डेले सुनाएपछि सीले जवाफमा भने, ‘मेरो शुभेच्छा पनि राष्ट्रपति भण्डारीसमक्ष पुर्‍याइदिनुहोला ।’

महामारीकै कारण नियुक्त भएको लामो समय राजदूत पाण्डे नेपालमै अडकिएका थिए । बेइजिङ पुगेपछि अनलाइनमार्फत् ओहोदाको प्रमाणपत्रको प्रतिलिपि चिनियाँ परराष्ट्रमन्त्रालयमा पेश गरेर उनले कार्यभार सम्हालका थिए ।