शुक्रबार, बैशाख १४, २०८१

यो परिवर्तनलाई एउटा व्यक्तिको सनकले उल्ट्याउन सक्दैनः प्रचण्ड

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमाले र माओवादी केन्द्र ब्यूँतिने सर्वोच्च अदालतको फागुन २३ गतेको फैसला सच्चिने बताएका छन् ।

२० औं जेलब्रेक दिवसको उपलक्ष्यमा मंगलबार काठमाडौंमा आयोजित कार्यक्रममा अध्यक्ष प्रचण्डले फैसला राजनीतिक प्रेरित भएकाले सच्चिनुपर्ने बताएका हुन् । उनले भने, ‘२३ फागुनको फैसलाविरुद्ध आज सर्वोच्चमा पुनरावलोकन निवेदन दर्ता गरेर आएँ । पहिलो पटक मुद्दा मैले दर्ता गराएको छु । यो पनि एउटा लडाइँ हो । कानूनी वैधानिक लडाइँ हो । यो सच्चिन्छ र हुनैपर्छ । त्यो फैसला राजनीतिक प्रेरित भएकाले सच्चिन्छ । यसलाई देशविदेशबाट हेरेको छ । पहिला पनि यस्ता धेरै मुद्दा पुनरावलोकन भएका छन् । अहिले पनि गर्नेछ । यो फैसला अली बढी राजनीतिक प्रेरित राजनीतिक मान्यता भन्दा बाहिर गएको छ ।’

उनले यो सानो दुःखले ल्याएको परिवर्तन नभएको भन्दै । परिवर्तनलाई एउटा व्यक्तिले उल्टाउन नसक्ने बताए । उनले भने, ‘ हामी देशभर गयौं । प्रतिगमनविरुद्ध उत्रिन देशभरका जनतालाई भन्यौं । सबै उत्पीडित जाति पेशा धर्म वर्ग सबैलाई भन्यौं । हामीले काठमाडौंमा तीन पटक सभा गर्यौं । ठूलो षड्यन्त्रलाई पराजित गर्यौं । सर्वोच्च जनताका पक्षमा फैसला गर्न बाध्य भयो । संसद पुनःस्थापना भयो भनेर ढुक्कसँग बस्ने अवस्था छैन ।’