शुक्रबार, चैत १६, २०८०

थारु अगुवालाई टीकापुर घटनाका सम्बन्धमा वार्ता टोली गठन गर्न सरकारको आग्रह

काठमाडौं । गृहमन्त्री रामबहादुर थापाले कैलालीको टीकापुर घटनाको सम्बन्धमा वार्ता टोली गठन गरी संवादमा आउन आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।.

थारु कल्याणकारी सभा र थरुहट/थारुवान संयुक्त संघर्ष समितिको आव्हानमा केही दिनदेखि माइतीघर मण्डलामा जारी धर्नामा बसेका थारु अगुवाहरुलाई भेट्न बिहीबार पुगेका गृहमन्त्री थापाले सरकार र संघर्ष समितिबाट वार्ता टोली गठन गरी समस्या समाधान गर्नुपर्ने बताएका हुन् ।

त्यसका लागि सरकारले छिट्टै वार्ताटोली गठन गर्ने र संघर्ष समितिबाट पनि धर्नालाई रोकेर वार्ता टोली बनाएर आउन आग्रह गरे । उनले यसबारे मन्त्रिपरिषद्को बैठकमा कुरा राखेर वार्ता टोली गठन गरी निष्कर्षमा पुर्याउने प्रतिवद्धता व्यक्त गरेका छन् ।

उनले टीकापुर घटनाका कतिपय विषयहरु राजनीतिक रुपले हल गर्न सकिने र कतिपय कानूनी तथा प्रशासनिक रुपबाट हल गर्न सकिने बताए । टीकापुर घटना राजनीतिक प्रकृतिको भएकोले राजनीतिक सहमतिको माध्यमबाट समाधान गर्नुपर्ने, रेशम चौधरी, लक्ष्मण थारु लगायतमाथि लगाइएको मुद्दा फिर्ता हुनुपर्ने लगायतका १९ बुँदे माग राखेर उनीहरु आइतबारदेखि धर्नामा छन् ।