बिहिबार, बैशाख १३, २०८१

संसदीय बोर्ड गठन र विधान संशोधन प्रक्रिया अघि बढाउने एमाले संसदीय दलको निर्णय

काठमाडौं । नेकपा एमालेको संसदीय दलको बैठकले गुटगत भेलामा जानेहरुलाई आत्मलोचनासहित दल र पार्टीको कार्यक्रममा सहभागी हुन आह्वान गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको संसदीय दलको बैकले गुटगत भेला नगर्न र भेलामा गएकाहरुलाई आत्मालोचनासहित पार्टी बैठकमा आउन आह्वान गरेको हो ।

बैठकले पार्टी निर्णय नमानेमा विधान अनुसार स्पष्टिकरण र कार्बाहीको प्रक्रिया अगाडि बढाउने निर्णय पनि गरेको एमालेका प्रमुख सचेतक विशाल भट्टराईले जानकारी दिए । त्यस्तै बैठकले संसदीय दलको बोर्ड गठन र विधान संशोधन प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ । बोर्डमा २७ जना रहनेछन् ।

बोर्डको प्रमुखमा अध्यक्ष केपी शर्मा ओली रहनेछन् । त्यस्तै सदस्यहरूमा माधवकुमार नेपाल, झलनाथ खनाल, सुवास नेम्वाङ, शेरबहादुर तामाङ, रघुवीर महासेठ, भुपेन्द्र थापा, खेम लोहनी, सरिता दाहाल, विमला विक, विशाल भट्टराई, शान्ता चौधरी, सुमन प्याकुरेल, विमला राई पौडेल, बिन्दा पाण्डे, राधा ज्ञवाली, दामोदर भण्डारी, विद्या भट्टराई, रेखा झा, नारदमुनी राना, मोहन बाँनिया, राजेन्द्र राई र महेश बस्‍नेतलगायत रहेका छन् ।

त्यस्तै बैठकले संसदीय दलको विधान संशोधन प्रक्रिया पनि अगाडि बढाएको छ । विधान संशोधन गर्न कार्यदल गठन गरिने भएको छ । कार्यदलमा विशाल भट्टराई, शेरबहादुर तामाङ र विमला राई पौड्याल रहेका छन् । बैठकमा वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपाल पक्षका सांसद भने सहभागी भएका छैनन् । फागुन २८ को निर्णय फिर्ता नलिएसम्म आफूहरु कुनै पनि बैठकमा सहभागी नहुने नेपाल पक्षले यसअघि नै बताइसकेको छ ।