शनिबार, बैशाख ०८, २०८१

होशियार ! साइबर स्यालको भ्रममा नपर्नुस्ः माधव नेपाल

काठमाडौं । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले आफूहरुले समाएको बाटो ध्वंस बनाउन हैन पार्टी र कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउनका लगि भएको बताएका छन् ।

बुधबार नेकपा एमालेको आफू पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले केपी ओलीको जस्तो वितण्डा मच्चाउने आफूहरुको उद्देश्य नभएको बताएका हुन् । पार्टीमा विग्रह आउनुमा केपी ओली जिम्मेवार भएको नेता नेपालले आरोप लगाए ।

उनले रचनात्मक उद्देश्य पूरा गर्नका लागि आफूहरुले धेरै दुःख कष्ट भोगेकाले नआत्तिन नेता कार्यकर्तालाई आग्रह गरे । कम्युनिष्ट पार्टीको निर्माण भनेको विचार दर्शन र सिद्धान्तबाट मात्र सम्भवन हुने भएकाले उनले विचार शून्यहरुले कम्युनिष्ट पार्टी निर्माण गर्न नसक्ने बताए ।

उनले आफहरुले अराजनीतिक व्यक्तिको पंक्ति नबनाउने बताए । उनले केपी ओलीले पार्टी र कम्युनिष्ट आन्दोलनलाई ध्वंस गर्न लागेको तथ्य प्रमाणहरु आफूहरुसँग एकभारी रहेको बताए । उनले यो भेला रोक्न ओली पक्षले फेक सूचना जारी गरिरहेको भन्दै आक्रोश व्यक्त गरे ।

उनले भने, ‘हाम्रा नेता योगश भट्टराईको नक्कली हस्ताक्षर गरेर समेत प्रचार गरियो भेला स्थगित भनेर । त्यसै मान्छेले भनेका रहेनछन् साइबर स्यालहरु अझै जिउँदै रहेछन् । हिजो नेकपा हुँदा मात्र थियो होला भन्ने ठानेको त एमालेमा पनि यस्तो रहेछ । फेरिपनि यस्तै गलत सूचना सम्प्रेषण गर्नेछन् यिनीहरुले । होशियार साइबर स्यालसँग भ्रममा नपर्नुस् ।’

उनले यो पदको लडाइँ नभई सिद्धान्त, विधि र नीतिको लडाइँ भएको बताए । उनले यो अग्नी परीक्षामा उत्रिन आफूहरु तयार रहेको र हिम्मत भए ओलीलाई अग्नी परीक्षणमा उत्रिन आग्रह गरे । उनले २०७१ सालमा ओलीलाई पार्टी अध्यक्ष बनाउनुनै दुर्भाग्य भएको बताए ।

उनले भने, ‘२०७१ सालमा ओली अध्यक्षमा निर्वाचित हुनु नै दुर्भाग्य भयो भनेर वामदेव गौतमले भन्नु हुन्थ्यो । र यो हो पनि । बैठक बोलाउन उहाँसँग आग्रह अनुनय विनय गर्नुपर्ने ? कति पटक चिठी लेख्यौ फरक मत दर्ज गर्यौं । कुन कुन मितिको बैठकमा के के भयो ? नियुक्तिमा कार्य विभाजनमा टिकटमा पूर्वाग्रह राख्नु हुन्थ्यो । गुटको सुरुवात गरेको उहाँले मदन भण्डारी फाउण्डेशनको नाममा । तपाइँ पनि पीडित हामी पनि पीडित एक ठाउँमा भेला भएका छांै । त्यसैले हाम्रो एकता बलियो छ र हुन्छ ।’

नेपालले पार्टी एक्तादेखि सर्वोच्चको फैसालपछि भएका हरेक घटना केपी ओली दोषी रहेको बताए । उनले भने, ‘तीन वर्षसम्म पनि पार्टीका निकायले पूर्णता पाएन् । आग्रह र पूर्वाग्रह राखिएको थियो । माओवादी र एमाले एकीकरण भयो । नयाँ जोशजाँगर पलायो राम्रो होला भन्ने लाग्यो । पहिलो गाँसमा ढुंगा लाग्यो । भएको सहमतिको उल्लंघन गरी सहमतिमै उल्लंघन गरी दुई जना मान्छेलाई केन्द्रीय कमिटीको आमन्त्रण सदस्य राखियो । बैठक नबस्ने, कार्यसूची नै नदिने । उनको भाषण सुन्नुपर्ने । अरुको कुरै नसुन्ने उनको मात्र सुन्नुपर्ने । उहाँलाइ इमान्दार कार्यकर्ता चाहिएको छैन । सुझाव उहाँलाई मन पर्दैन । जवज उहाँले थाती राख्नुभयो । अहिले जवजको बडो हिमायती हुन चाहनुहुन्छ नक्कली कुराको भ्रममा नपर्नुस् । विधि पद्दतिको सधैं उल्लंघन गरी पालना नगर्ने सहमतिको रटान लगाउने तर काम उल्टो गर्ने ।
आफ्नो गल्तीको दोष अरुलाई थोपर्ने काम गर्नुभयो । एकताको कहिल्यै पक्षपाती हुनुभएन । सरकारी ओहदा र सरकारी सम्पत्तिको दुरुपयोग गर्नुभयो । आफ्नो कुर्सी बचाउन संविधान विरोधी काम गर्नुभयो । सुरु देखि नै फुट चलाउने अभियानमा लाग्नुभयो ।’

उनले सर्वोच्चले गलत फैसला गरेको बताए । उनले भने, ‘सर्वोच्चले पुरानै अवस्थामा फर्किनु भन्ने फैसला गलत छ । ‘जन्मेको बच्चालाई फेरि गर्भमा पठाउ भन्ने फैसला आयो ।’

उनले आफूहरु केपी ओलीमा समाहित हुने नभई सबै जना एमालेमै आएको बताए । तर केपी ओलीले आफूहरुलाई एमालेमा सामाहित हुनुपर्ने जस्ता लगत कुरा गरेको बताए । उनले कुनै पनि व्यक्ति पार्टीको विधान मातहतमा हुने भन्दै विधान बाहिर कोही रहन नसक्ने बताए ।

उनले ओलीले पहिलादेखि नै पार्टी एकताविरुद्ध गतिविधि गरी ध्वंस पार्ने काम गरेको भन्दै त्यसकाबारेमा कार्यकर्तालाई बुझाउ भेला आयोजना गरेको बताए । उनले आफूले पार्टीलाई अगाडि बढाउन ६ वटा कुरा राखेको बताए । उनले भने, पहिलो कुरा पूर्वएमालेको संगठनात्मक संरचना राजनीतिक वैचारिक मान्यता, नेतृत्वहरु सबै सदस्यहरु यथावत रहनेछन् । दोस्रो अबदेखि पार्टीलाई विधि पद्दतिका आधारमा परिचालन गरिनेछ । तेस्रो कुरा पार्टीका बैठक कसैका निवासमा नभई पार्टी कार्यालयमा हुनुपर्ने । चौथो कुरा फेरि एकताको प्रयासलाई अगाडि बढाउनुपर्छ । पाँचौ वामपन्थीको सरकारलाई अगाडि बढाउने र छैटौं पार्टीको मार्ग निर्देशन अनुसार सरकार चल्नुपर्ने ।’

तर त्यसमा ओली सहमत नभएको उनले बताए । उनले भने, ‘तर फागुन २८ मा कसैलाई पनि थाहा नदिइ सुटुक्क मनपर्ने मान्छेको भेला गरी केन्द्रीय कमिटीको विशेष बैठक बसी निर्णय गर्नुभयो । नवौं बैठक बसेको थियो यसअघि तर दशौं र एघारौं बैठक खै त ? अनि १२ औं बैठकका निर्णय भनियो । ओलीको यो कदमबाट दुखित चिन्तित भयौं । अनि फोन गर्नुभयो बालुवाटार आउन भन्नुभयो । आउँदिन भनें । म बाहिर जान मिल्दैन भन्नुभयो । अनि तपाई बाहिर निस्कन नमिल्ने म बालुवाटार आउँदिन भनेपछि पछि धुम्बाराही आउने भए र एक्लै भेट्दिन भनेर पाँच जना साथी लिएर गएँ । वार्तामा उहाँमा दम्भ देखियो । चट्टानमा पछार्नुभएको थियो तर देउताले बचाइ दिए भन्नुभयो । नयाँ शिरबाट जाऔं भनेको तर पुरानो पार्टीबाट सुरु गरौं भन्दा हुँदैन रे । अनि उनी गल्ती स्वकार नगर्ने र हामीले आत्मालोचना गर्नुपर्ने रे । २८ गतेको भेला अवैध घोषण गरे हामी भेला रोक्न तयार छौं भन्दा उनी नमान्ने । त्यसैले समस्याको जड नै ओली हुन्।’