अदालतले सही फैसला गर्नेमा विश्वस्त छौंः अध्यक्ष प्रचण्ड

काठमाडौं । नेकपाको प्रचण्ड–नेपाल समूहका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरु प्रतिगमनविरुद्धको युद्धमा रहेको र त्यसलाई जित्नै पर्ने बताएका छन् ।

मंगलबार काठमाडौंमा ‘जनयुद्धको हस्ताक्षर’ पुस्तक विमोचन कार्यक्रममा अध्यक्ष प्रचण्डले प्रतिगमनविरुद्ध नयाँ प्रकारको युद्धमा रहेको बताएका हुन् । उनले प्रतिनिधिसभा विघटनको मुद्दा अदालतमा रहेको र अदालतले सही फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

उनले भने,‘अदालतप्रति अविश्वास छ भनेर कसले भनेको छ र ? अदालतप्रति विश्वास छ । अदालतले सही फैसला गर्नेछ।’ धेरै मेहनतबाट आफूहरुले पार्टी एकता गरेको भन्दै अध्यक्ष प्रचण्डले आफूहरु त्यसलाई जोगाउन लागिपरेको बताए ।

उनले भने, विभाजन गर्ने षड्यन्त्र भइसकेको छ । आधिकारिक र वैधानकि जो हामी छौं हामी त्यसको रक्षाको पक्षमा छौं । एकताको झण्डा हामीले उठाएका थियौं । केपीजीले पार्टीालई फुट र विसर्जनतर्फ लैजानुभयो । मुद्दा उहाँले हार्नुभयो । व्यवहारिक रुपमा परास्त गर्न हामीले युद्ध जित्नुपर्छ । जनता प्रतिगमन विरोधी अभियानमा लागेकोमा खुसी छौं । यो हामीले जित्नैपर्छ र जित्ने पनि छौं ।’

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा प्रतिनिधि सभा विघटन गरेका थिए। उक्त मुद्दा अदालतमा बहसपछि हेर्दाहेर्दैमा छ ।

फेसबुकबाट तपाइको प्रतिक्रिया