काठमाडौं । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान शतबीज छरी मनाइने बालाचतुर्दशी पर्व मनाइएको छ । मार्गशीर्ष कृष्ण त्रयोदशीको दिन बेलुकी शिवालयहरुमा दीपदान गरी रातभर जाग्राम बस्ने र भोलिपल्ट बिहानै पितृको सम्झनामा शतबीज छर्ने प्रचलन रहेको छ । यसो गरेमा दिवंगत आत्माले शान्ति पाउने धार्मिक विश्वास छ ।
दिवंगत पितृको सम्झनामा सात थरिका विभिन्न अन्नहरु मिलाएर शतबीज छर्ने गरिन्छ । शतबीजको रुपमा धान, जौ, तिल, गहुँ, चना, मकै, कागुनो छर्दै मृगस्थलीमा रहेका बहिरा गणेश नजिक आइपुगेपछि गणेशको शिलालाई हल्लाउँदै ठूलो स्वरले दिवंगत आत्माले पाउने गरी सन्देश पुर्याउन अनुरोध गरिन्छ ।
देशभरका शिव मन्दिरहरुमा बालाचतुर्दशीको अघिल्लो रात दिवंगत पितृका नाममा दीपदान गर्न लाखौं भक्तजन आउने गर्दछन् । यस वर्ष पशुपतिनाथमा भने मेला नलागेको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । बाला चतुर्दशीमा लाखौँ भक्तजन पशुपतिमा आउने गरेकाले कोरोना फैलने डरले यस वर्ष दीपदान नगर्न कोषले अनुरोध गरेको थियो । तर कोषले रोक लगाएपनि पशुपतिनाथ मन्दिरमा आइतबार बिहानै शतबीज छर्नेहरुको घुइँचो लागेको थियो । यस वर्ष कोरोना संक्रमणको जोखिमका कारण सरकारले पशुपति मन्दिरमा प्रवेश निषेध गरेपछि मन्दिर परिसर बाहिरबाटै शतबीज छरेका हुन् । शतबीज छर्न मन्दिरको मुख्य क्षेत्र कैलाशडाँडामा निषेध गरिएको थियो । मृगस्थली, गुह्येश्वरी र गौरीघाट क्षेत्रमा मात्र शतबीज छर्न दिइएको थियो ।
यस अवसरमा पशुपति क्षेत्र पुग्ने भक्तजनले वासुकी र गुह्येश्वरीको पूजा गर्नुपर्ने शास्त्रीय वचन छ । चतुर्दशीको बिहान शतबीज छरी हवन गरेपछि बाला चतुर्दशी पर्वको विधि पूरा हुने शास्त्रीय परम्परा छ ।










