शुक्रबार, बैशाख १४, २०८१

बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा,विष्फोटमा परी मृत्यु हुनेको संख्या १३५ पुग्यो

मङ्गलवार लेवननको बेइरुतमा भएको विस्फोटनमा परी मृत्यु हुनेको संख्या १३५ पुगेको छ भने घाइतेको सङ्ख्या ४ हजार भन्दा बढी छ ।

राष्ट्रपति मीसेल आउनका अनुसार असुरक्षित रूपमा राखिएको २,७५० टन अमोनियम नाइट्रेटका कारण विस्फोटन भएको हो । बेइरुतमा भएको ठूलो विस्फोटनको अनुसन्धान सुरु गर्नुअघि राजधानी शहरको उक्त बन्दरगाहका केही अधिकारीहरूलाई उनीहरूकै निवासमा नजरबन्दमा राखिएको लेबनन सरकारले जनाएको छ ।

भन्सार प्रमुख बद्रि दाहेरले आफ्नो निकायले उक्त रसायन हटाउन भनेको तर त्यस्तो नभएको बताएका छन् । वेलायतस्थित शेफिल्ड विश्वविद्यालयका विशेषज्ञहरूले बेइरुत विस्फोटनको शक्ति दोस्रो विश्व युद्धका बेला जापानको हिरोसिमा मा खसालिएको अणु बम बमको शक्तिसँग तुलना गर्ने त्यो १० भागको एक भाग रहेको अनुमान गरेका छन् ।

उनीहरूले पछिल्लो घटना ’निस्सन्देह आधुनिक इतिहासको सबैभन्दा ठूलो गैरआणविक विस्फोटन मध्येको एक’ बताएका छन् । अधिकारीहरूका अनुसार बेइरुतको एउटा गोदाममा ६ वर्षदेखि उक्त विस्फोटक पदार्थ राखिएको थियो । विस्फोटनको आवाज करिब २४० किलोमिटर पर रहेको साइप्रससम्म सुनिएको थियो ।

यस्तै, शक्तिशाली विष्फोट पछि लेवनानको राजधानी बेइरुतमा एक हप्ताका लागि संकटकाल घोषणा गरिएको छ ।