शुक्रबार, बैशाख १४, २०८१

माइती नेपालद्वारा ‘सामुदायिक भान्सा’ अभियान सञ्चालन

कञ्चनपुर । दैनिक ज्यालादारी गरेर जीविकोपार्जन गर्ने वर्ग र सुमदायलाई लक्षित गरी माइती नेपाल कञ्चनपुरले सामुदायिक भान्सा अभियान सञ्चालन गरिरहेको छ ।

लामो समयसम्मको लकडाउन र त्यसपछि केही खुला भएको अवस्थामा पनि दैनिक ज्यालादारी गरेर हातमुख जोर्न बाध्य वर्ग समुदायलाई सामुदायिक भान्सा अभियानले धेरै राहत पुगेको बताइएको छ ।

कोरोना भाइरस सङ्क्रमण न्यूनीकरणका लागि सरकारले नेपाल–भारत सीमा ‘सिल’ गर्नुका साथै लकडाउन गरेपछि सीमा क्षेत्रमा मानव बेचबिखनका क्षेत्रमा निगरानी बढाउनुपर्ने अवस्था नरहेपछि माइती नेपालले कञ्चनपुर र बाँके जिल्लामा सामुदायिक भान्सा अभियान सञ्चालन गरी सुकुम्बासी, दलित, विपन्न र वादी समुदायमा पोषिलो खाना खुवाउने अभियान सञ्चालन गरिरहेको छ ।

माइती नेपाल कञ्चनपुरका संयोजक महेश्वरी भट्टले जिल्लाको लालझाँडी, बेदकोट, भीमदत्त र महाकाली नगरपालिकामा यस अभियानमार्फत नौ हजार ५८५ लाई पोषिलो खाना खुवाएको जानकारी दिए ।

उनले हालसम्म यहाँको लालझाडी गाउँपालिकाको ठक्का निकुञ्ज पीडित शिविरमा आठ दिनसम्म भान्सा सञ्चालन गरेर दैनिक २५० जनालाई खाना खुवाइएको बताए।

त्यसैगरी बेदकोट नगरपालिका–९ को निकुञ्ज पीडित शिविर र सुकुम्बासी शिविरमा पनि दुई दिन भान्सा सञ्चालन गरिरहेको थियो । त्यस्तै महाकाली नगरपालिकामा बादी बस्ती र ढकनीघाटमा गरी तीन दिनसम्म दैनिक २८० जनालाई खाना खुवाइएको माइती नेपालले जनाएको छ ।

माइती नेपालले वस्तुस्थिति हेरेर जिल्लाका अन्य शिविर र बस्तीमा समेत अभियान सञ्चालन गर्दै जाने बताएको छ । भीमदत्त नगरपालिकामा ३७ दिनदेखि यो अभियान जारी छ ।