एनआरएनए महिला फोरम जापानले धनकुटाकी हिंसापिडीत बालिकालाई आर्थिक सहयोग गर्ने

इन्दिरा खनाल,जापान । गैरआवासीय नेपाली संघ(एनआरएनए) महिला फोरम जापानले धनकुटाकी यौन हिंसामा परेकी बालिकालाई आर्थिक सहयोग गर्ने भएको छ ।
आईतबार टोकियोको सिनओकुबुमा बसेको फोरमको बैठकले ती बालिकाको जिविकोपार्जनका लागि आर्थिक सहयोग गर्ने निर्णय गरेको हो । आफूले अध्ययन गर्दै आएको विद्यालयका शिक्षकबाट बलत्कृत भएकी ती बालिकाको पारिवारीक अवस्था कमजोर रहेको बुझिएको छ । १४ वर्षिय ती बालिका पटक पटक वलत्कृत भएपछि पेटमा बच्चा समेत रहेको बताईएको छ । गर्भपतन गराउने अवस्था नभएकोले ती बालिकाले बच्चा जन्माउने बाध्यता परेको छ । परिवारको आर्थिक अवस्था कमजोर भएकोले स्वास्थ्य जाँच गर्न र दैनिकी चलाउन समेत मुस्किल परेकोले महिला फोरमले आफना सदस्यहरुबाट रकम उठाई बालिकालाई सहयोग गर्ने भएको हो ।
एनआरएनए जापानकी महिला संयोजक संगिता अधिकारीले बलत्कृत बालिकालाई जीवन यापनका लागि निरन्तर सहयोग गर्ने बताउनुभयो । फोरमकी संयोजक समेत रहनुभएकी अधिकारीले हिंसामा परेका महिलालाई सहयोग गर्ने उदेश्यले महिला फोरममा आवद्ध सदस्यहरुबाट मासिक ५ सय उठाउने निर्णय समेत बैठकले गरेको जानकारी दिनुभयो । सोही रकमबाट धनकुटाकी बालिकालाई जीवन यापनका लागि सहयोग गर्ने बताउनुभयो । उहाले ती बालिकाको पारिवारिक अवस्था कमजोर भएकोले आर्थिक सहयोग गर्न लागिएको बताउनुभयो ।
अधिकारीले सदस्यहरुबाट उठाएको मासिक रकमले कोष स्थापना गर्ने र हिंसामा परेका र आर्थिक अवस्था कमजोर भएका महिलालाई सहयोग गर्ने उल्लेख गर्नुभयो । महिला फोरम महिलाको हक हित र संरक्षणका लागि गठन भएकोले उक्त रकम पनि महिलाकै क्षेत्रमा खर्च गरिने बताउनुभयो । एनआरएनए आइसिसी एसिया प्यासिफिक अन्तर्गत घरेलु हिंसा र महिला उत्पिडन सम्बन्धि समस्या हेर्ने संयोजकको जिम्मेवारी समेत पाउनुभएकी अधिकारीले महिला हिंसा बिरुद्ध सक्रिय भएर लाग्ने र कानुनलाई पालना गर्न पनि दवाव दिने बताउनुभयो ।
बैठकमा एनआरएनए जापानकी बरिष्ठ उपाध्यक्ष अनिता गुरुङ, कोषाध्यक्ष कालीका थापा सदस्य अन्जु भण्डारी, लगायतले बोल्दै महिला हिंसा बिरुद्ध पहिलेदेखि आवाज उठाउदै आएको र यसको अन्त्यको लागि सक्रिय भएर लाग्ने बताउनुभयो ।
यसै बिच बैठकले नेपाली महिलाहरुको महान पर्व हरितालिका तीज नजिकिदै गएकोले आगामी अगस्त २३ तारिक आईतबार तीज मनाउने निर्णय गरेको छ । विश्वव्यापी रुपमा महामारीको रुपमा फैलिएको नयाँ भाईरस कोभिड-१९ को प्रकोपलाई हेरी अवस्था सामान्य भएमा तीज कार्यक्रम गर्ने निर्णय भएको हो ।
जापानमा सक्रिय महिलाहरुको उपस्थितिमा सम्पन्न बैठकमा महिला हिंसा बिरुद्धका अभियानमा फोरमलाई सहयोग गर्ने बताएका थिए ।

फेसबुकबाट तपाइको प्रतिक्रिया