काठमाडौं । नेपाल आदिवासी जनजाति महासंघ र महासंघमा आबद्ध ५९ जातीय संस्थाहरुले ‘नेपाल भ्रमण वर्ष–२०२०’ लाई सफल बनाउन सक्रिय सहभागी हुने प्रतिबद्धता जनाएका छन् ।
आगमी १ जनवारी २०२० मा दशरथ रंगशालामा हुने समुद्घाटन कार्यक्रममा जातीय पहिचान सहित सहभागी हुने र वर्षभरी हुने कार्यक्रमहरुमा पनि सक्रिय सहभागिता जनाएका हुन् ।
आइतबार सिंहदरबारस्थित मन्त्रालयको सभा हलमा भएको छलफल कार्यक्रममा संस्कृति,पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले भ्रमण वर्षलाई सफल बनाउन सहकार्य, सहभागिता र सहयोगको आह्रवान गरेका थिए । छलफल कार्यक्रममा आदिवासी जनजाति महासंघका अध्यक्ष जगत बारमले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन आदिवासी जनजाति महासंघ र महासंघमा आबद्ध जातिय संस्थाहरुको सक्रिय सहभागिता रहने बताए । अध्यक्ष बारमले नेपालको पर्यटनको प्रमुख आधार प्रकृति र संस्कृति भएको बताउदै आदिवासी जनजातिहरुको संस्कृति नै नेपालको पहिचान र गर्व भएको बताए ।
अध्यक्ष बारमले नेपाल आदिवासी जनजाति महासंघलाई पनि भ्रमण वर्षको सदस्य संस्था बनाएकोमा खुसी व्यक्त गरे । अध्यक्ष बारमले भ्रमण वर्षलाई सफल बनाउन महासंघमा आबद्ध संस्थाहरु, जिल्ला समिति र विदेशमा रहेका शाखा पनि सक्रिय हुने बताए । उनले आदिवासी जनजातिहरुको सांस्कृति पर्वहरुमा विदा कटौती भएको भएको भन्दै विदा दिने व्यवस्थाका लागि पहल गर्न आग्रह गरे ।
मन्त्री भट्टराईले महासंघका अध्यक्ष लगायत जातीय संस्थाका अध्यक्षहरुले उठाएको बिषयमा बोल्दै नेपालका आदिवासी जनजाति, जातजातिहरुको सांस्कृति चाडपर्वहरुको परिचय समेटिएको सांस्कृतिक क्यालेन्डर प्रकाशन गरिने बताए । आदिवासी जानजाति महासंघ लगायत संस्थाहरुसँग समन्वय गरेर जानकारी मुलक सांस्कृतिक क्यालेन्डर प्रकाशन गरिने मन्त्री भट्टराईको भनाई छ ।
महासंघका अध्यक्ष लगायतले आदिवासी जनजातिहरुका सांस्कृति पर्वहरुको सरकारी क्यालेन्डरमा प्रकाशनमा नसमेटिएको गुनासोपछि मन्त्री भट्टराईले यो प्रतिबद्धता जनाएका हुन् । यसैगरी मन्त्री भट्टराईले आदिवासी जनजाति संग्राहलयको स्थापना गरिने बताए ।
कार्यक्रममा आदिवासी जनजाति महासंघका उपाध्यक्ष गोबिन्द छन्त्याल, नेपाल शेर्पा संघका अध्यक्ष गेल्जे लामा शेर्पा,किरात याक्थुङ चुम्लुङका अध्यक्ष योगराज वनेम, थकाली सेवा समाजका अध्यक्ष सोमप्रसाद तुलाचन, नेवाः दे दबुका महासचिव माइलाबाबु देउला, किरात राई यायोक्खाका महासचिव जनक राई, राष्ट्रिय आदिवासी जनजाति महिला महासंघकी उपाध्यक्ष जुनिता राई, आदिवासी जनजाति युवा महासंघका महासचिव हेमन्त राई लगायतले ‘नेपाल भ्रमण वर्ष–२०२०’लाई सफल बनाउन सक्रिय हुने प्रतिबद्धता जनाए ।

