Nepali date


शुक्रबार, कार्तिक २९, २०७६

जुवाखालबाट तीन करोड ५१ लाख बरामद

तिहारको बेला उपत्यकाका विभिन्न ठाउँमा गरिएका जुवाखालबाट प्रहरीले ३ करोड ५१ लाख हाराहारीमा रकम बरामद गरेको छ। जुवाखाल भइरहेको स्थानमै पुगेर प्रहरीले ‘जुवाडे’सहित मोटो रकम बरामद गर्न सफल भएको हो।

प्रहरीका अनुसार काठमाडौंबाट रकम ३ करोड ३० लाख १२ हजार, भक्तपुरबाट ३८ रकम ९ लाख ९७ हजार र ११ लाख ३० हजार रूपैयाँसहित ६ सय जनालाई पक्राउ गरिएको छ।

मोटो रकमसहित जुवातास खेल्नेमाथि मुद्दा चलाएर कारबाही प्रक्रिया अघि बढाएको महानगरीय प्रहरी कार्यालय रानीपोखरी (मेट्रो) का एसएसपी श्याम ज्ञवालीले जानकारी दिए। उनका अनुसार धेरैजसो ठाउँमा प्रहरी नै पुगेर रंगेहात प्रक्राउ गरेको थियो।

‘चाडबाडको बेला लुकीछिपी तास खेल्नेको संख्या बढेकोले विकृति जगाउने माध्यम नै ‘जुवातास’ बनेको प्रहरीको आकलन छ। रमझमलाई सभ्य र सुसंस्कृत बनाउने तयारीसँगै सुरक्षा व्यवस्थामा कडाई गरे तापनि यो वर्ष जुवातास खेल्नेको संख्या बढेको ज्ञवालीले बताए।

‘दसैं तिहारमा जुवातासजस्ता नकारात्मक गतिविधि बढ्न थालेका छन्, यसले समाजलाई राम्रो गर्दैन, त्यसकारण यस्ता गतिविधिमा संलग्नमाथि कानुन अनुसार कारबाही हुन्छ, यसपटक तिहारमा पटका कम पड्किए पनि जुवाखालबाट धेरै व्यक्ति पक्राउ परे,’ उनले भने।

उनका अनुसार काठमाडौंबाट २ सय २३ जना, भक्तपुरबाट ३८ जना र ललितपुरबाट ३ सय हाराहारी व्यक्ति पक्राउ परेका छन्। उनीहरूमाथि सम्बन्धित प्रहरी कार्यालयबाट कानुनी कारबाही प्रक्रिया अघि बढेको छ।

महानगरीय प्रहरी परिसर जावलाखेलका एसएसपी टेकप्रसाद राईका अनुसार विभिन्न ठाउँमा भएका जुवाखालबाट बरामद गरिएको रकम राजस्वको रूपमा संकलन हुन्छ।

जुवाखालमा संलग्न धेरैजसो व्यक्तिमाथि मुद्दा चलेको र केहीलाई म्याद थप्ने तयारी भएको उनको भनाई छ। ‘९ बजेपछि पटका र अन्य गतिविधि बन्द गर्नुपर्ने भए पनि त्यसको परिपालना भएन,’ उनले भने, ‘त्यसकारण धेरैमाथि कारबाही भयो, अझै पनि निगरानी बढाएका छौं।’

उनका अनुसार यस वर्ष नाचगान, पटका पड्काएर र जुवातास खेलेर छिमेकीलाई असर पारेको भन्दै प्रहरीमा ३ सयभन्दा बढी उजुरी परेका छन्। उजुरीका आधारमा केहीलाई प्रहरीले पक्राउ पनि गरेको छ।=

फेसबुकबाट तपाइको प्रतिक्रिया