काठमाडौं । नेपालका आदिवासी जनजातिहरुको प्रथम अन्तर्राष्ट्रिय सम्मेलनको दुई दिन विभिन्न विषयमा छलफल गरि सम्पन्न भएको छ ।
सम्मेलनको दोस्रो दिनको बन्दसत्रमा आदिवासी जनजातिको आन्दोलन र औचित्यका साथै आवश्यकताबारे व्यापक छलफल भएको छ । आदिवासी जनजातिले विगतदेखि गर्दै आएको आन्दोलनका सवालमा विश्वभरबाट आएका प्रतिनिधिहरुले एक्येवद्धता जनाएका छन् ।
नेपाल आदिवासी जनजाति महासंघ (नेफिन) का विदेशस्थित शाखा तथा सम्वन्धन संस्थाहरुले आदिवासी जनजातिले गर्दै आएको आन्दोलन र भावी दिनमा गरिने आन्दोलनमा एक्येवद्धता जनाएका हुन् । आन्दोलनका क्रममा भएका कमीकमजोरी औंल्याउँदै विगतमा भएका गल्ती सच्याउँदै उपलव्धीका लागि नयाँ ढंगले आन्दोलनलाई अघि बढाउनसमेत सुझाव दिएका छन् ।
विभिन्न देशबाट आएका अध्यक्ष तथा प्रतिनिधिहरुले आदिवासी जनजाति अधिकारका लागि नेपालमा भइरहेका आन्दोलनलाई थप उचाईमा पुर्याउन थप रणनीति तय गर्न समेत सुझाव दिएका छन् । आन्दोलनका क्रममा विदेश शाखा तथा सम्वन्धन संगठनहरुको तर्फबाट नैतिक र आर्थिक सहयोग गर्ने सवालमा समेत प्रतिवद्धता जनाएका छन् ।
नेफिनका विदेशस्थित सम्बन्धन शाखा संगठनहरूको तर्फबाट इजरायलबाट लक्ष्मी योञ्जन तामांग, कतारबाट शिव भुजेल, कुवेतबाट माया राई, जापानबाट सुमन लिम्बू, दक्षिण कोरियाबाट युगेल शेर्पा, बहराइनबाट पदम गुरुङ, मलेसियाबाट रविन राई, युएइ (दुबई) बाट पासाङ रिञ्जी शेर्पा, साउदी अरबबाट ओम घले र हङकङबाट किसन राईले आआफ्नो संगठनको गतिविधिबारे जानकारी दिँदै नेपालमा हुने आदिवासी जनजाति आन्दोलनबारे एक्येवद्धता जनाए ।

त्यस्तै, नेपाल आदिवासी जनजाति महासंघ, पोर्तुगलका हेम गुरुङ, युके (बेलायत)बाट खुशी लिम्बू, अमेरिकाबाट मनबहादुर राना मगर, क्यानडाबाट गिरी बुढाथोकी, अष्ट्रेलियाबाट सुदर्शन मगरले आआफ्नो शाखामा भएका गतिविधिका साथै आन्दोलनका विषयमा प्रस्तुति दिएका थिए ।
नेफिनका अध्यक्ष जगत बरामको अध्यक्षतामा भएको सम्मेलनको बन्दसत्रमा नेफिनका पूर्वअध्यक्षहरु, महासचिवहरुका साथै सल्लाहकार लगायत आदिवासी जनजाति अभियन्ताहरुको उपस्थिति थियो । सम्मेलनले आज नै एक घोषणापत्र जारी गर्दै अन्तर्राष्टिय संयन्त्रको निर्माण गर्दै समापन हुनेछ । 

