काठमाडौं । आगामी स्थानीय तह निर्वाचनको तयारी र पार्टीको संगठनात्मक एकता सुदृढ गर्ने उद्देश्यसहित नेकपा एमालेले दुईदिने राष्ट्रिय कार्यकर्ता भेला आयोजना गर्ने भएको छ ।
मंसिर २ र ३ गते काठमाडौंको माइतीघरस्थित कार्की ब्याङ्क्वेटमा हुने भेलामा देशभरबाट ३ हजार ४१४ जना नेता, कार्यकर्ता तथा जनप्रतिनिधि सहभागी हुने एमालेले जनाएको छ ।
सोमबार पत्रकार सम्मेलन गरी एमालेले भेलाबारे जानकारी दिएको हो । पत्रकार समेलनमा केन्द्रीय प्रचार तथा प्रकाशन विभागका प्रमुख निरज आचार्यले भेलाको उद्घाटन पार्टी अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान ११ बजे गर्ने जानकारी दिए । कार्यक्रममा पूर्वराष्ट्रपति एवं पार्टीकी वरिष्ठ नेता विद्यादेवी भण्डारीले विशेष सम्बोधन गर्ने कार्यक्रम छ ।
निर्वाचनमा पार्टीले बेहोरेको परिणामपछि नेता तथा कार्यकर्तामा देखिएको निराशा हटाउने, पार्टीको राजनीतिक दृष्टिकोणमा एकरूपता कायम गर्ने र आगामी स्थानीय निर्वाचनका लागि संगठनलाई परिचालित गर्ने भेलाको प्रमुख उद्देश्य रहेको उनले बताए ।
भेलामा पार्टीका केन्द्रीय सदस्य, प्रदेश तथा जिल्ला तहका पदाधिकारी, पालिका कमिटीका अध्यक्ष र उपाध्यक्षका साथै संघीय सांसद, प्रदेशसभा सदस्य र स्थानीय तहका जनप्रतिनिधिहरू सहभागी हुनेछन् ।
कार्यक्रममा तीनवटा प्रमुख राजनीतिक तथा संगठनात्मक कार्यपत्र प्रस्तुत हुनेछन् । उपाध्यक्ष रामबहादुर थापाले संसदीय संघर्ष र पार्टीको भूमिकाबारे, उपाध्यक्ष विष्णुप्रसाद पौडेलले एमाले नेतृत्वका सरकारका उपलब्धिबारे तथा महासचिव शंकर पोखरेलले पार्टी शुद्धीकरण, संगठन सुदृढीकरण र स्थानीय निर्वाचनको कार्ययोजनाबारे प्रस्तुति दिनेछन् ।
एमालेले भेलालाई पार्टीको आन्तरिक समीक्षा, राजनीतिक परिस्थिति विश्लेषण र आगामी निर्वाचनको तयारीका लागि महत्वपूर्ण अवसरका रूपमा लिएको छ ।यसैबीच, राष्ट्रिय भेलापछि मंसिर ४ गते एमालेबाट निर्वाचित स्थानीय तहका जनप्रतिनिधिहरूको छुट्टै राष्ट्रिय भेला आयोजना गरिने आचार्यले बताए ।

