शनिबार, असार ०६, २०८३

जापानबाट जाेशीले रास्वपा केन्द्रीय सदस्यमा उम्मेदवार दिने:प्रवासको आवाजलाई केन्द्रसम्म पुर्‍याउने संकल्प

टोकियो । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को प्रथम राष्ट्रिय महाधिवेशनमा प्रवास नेपाली सम्पर्क विभाग जापानका संस्थापक प्रमुख तथा महाधिवेशन प्रतिनिधि दिलेन्द्र प्रसाद जोशीले केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिने घोषणा गर्नुभएको छ।

पार्टी स्थापना कालदेखि नै संगठन निर्माण, विस्तार र प्रवासमा रहेका नेपालीहरूलाई राष्ट्रिय स्वतन्त्र पार्टीको विचार, उद्देश्य र अभियानसँग जोड्ने कार्यमा सक्रिय रहँदै आउनुभएका जोशीले प्रवासको अनुभव, संगठनप्रतिको निष्ठा र जिम्मेवारीबोधका साथ केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिन लागेको बताउनुभएको छ।
राष्ट्रिय स्वतन्त्र पार्टी स्थापनाको छोटो समयमै देशको महत्वपूर्ण राजनीतिक शक्तिका रूपमा स्थापित हुनुको पछाडि देशभित्र र देशबाहिरबाट निष्ठा, विश्वास र आशाका साथ खटिनुभएका हजारौँ सदस्य, शुभेच्छुक, अभियन्ता तथा संगठन निर्माणमा योगदान गर्ने साथीहरूको भूमिका रहेको जोशीको भनाई छ।

उहाँले पार्टी आज जहाँ आइपुगेको छ, त्यसको जग सुरुवाती दिनदेखि नै परिवर्तनको आशा बोकेर जोडिनुभएका साथीहरूको मेहनत, समय, श्रम र विश्वासमा उभिएको बताउनुभएको छ। कसैले सार्वजनिक रूपमा नेतृत्व गरेको, कसैले पृष्ठभूमिमा रहेर संगठन विस्तार गरेको, कसैले जनसम्पर्क, आर्थिक, बौद्धिक, प्राविधिक तथा नैतिक सहयोग गरेको उल्लेख गर्दै जोशीले ती सबै योगदानहरू पार्टीको इतिहासका महत्वपूर्ण अंश भएको धारणा राख्नुभएको छ।

जोशीले समयसँगै संगठन विस्तार हुनु, नयाँ साथीहरू जोडिनु र नयाँ नेतृत्वहरू उदाउनु स्वाभाविक र सकारात्मक विषय भएको बताउनुभयो। तर नयाँ संरचना निर्माण गर्ने क्रममा सुरुवाती दिनदेखि योगदान गरेका व्यक्तिहरूको भूमिका बिर्सिँदै जाने, इतिहासलाई व्यवस्थित रूपमा अभिलेखीकरण नगर्ने वा योगदानको उचित मूल्यांकन नगर्ने प्रवृत्ति बढे संगठनको आत्मा कमजोर हुन सक्ने उहाँको भनाइ छ।

“राजनीतिक संगठन केवल पद, संरचना र चुनावी परिणामले मात्र बलियो हुँदैन। संगठन बलियो हुन त्यसको स्मृति, मूल्य, अनुशासन, न्यायपूर्ण मूल्यांकन र योगदानको सम्मान पनि उत्तिकै आवश्यक हुन्छ,” जोशीले भन्नुभयो, “योगदानलाई समयसँगै बिर्सँदै जाने हो भने संगठनभित्र निराशा जन्मिन सक्छ। यस्तो अवस्था आयो भने हामी दीर्घकालीन राजनीतिक शक्ति बन्ने भन्दा केही वर्षका लागि मात्र सक्रिय देखिने मौसमी राजनीतिक शक्ति बन्ने जोखिममा पर्न सक्छौँ।”

प्रथम राष्ट्रिय महाधिवेशन राष्ट्रिय स्वतन्त्र पार्टीका लागि केवल नेतृत्व चयन गर्ने कार्यक्रम मात्र नभई पार्टीको विगत, वर्तमान र भविष्यलाई जोड्ने ऐतिहासिक अवसर भएको जोशीको धारणा छ। उहाँले महाधिवेशनले पार्टीको संगठनात्मक संस्कार, आन्तरिक लोकतन्त्र, योगदानको सम्मान, जिम्मेवारीको न्यायपूर्ण बाँडफाँट र संस्थागत पद्धतिको स्पष्ट सन्देश दिन सक्नुपर्ने बताउनुभयो।

जोशीले पार्टीभित्र एक निष्पक्ष, जिम्मेवार र संस्थागत आन्तरिक मूल्यांकन समिति निर्माण गर्न आवश्यक रहेको प्रस्तावसमेत गर्नुभएको छ। उक्त समितिले पार्टी स्थापना कालदेखि हालसम्म देश तथा विदेशमा संगठन निर्माण, विस्तार, जनसम्पर्क, अभियान सञ्चालन, सदस्यता विस्तार, नीति बहस, संकटका समयको सक्रियता र पार्टीको हितमा गरिएको निरन्तर योगदानलाई व्यवस्थित रूपमा अध्ययन, अभिलेखीकरण र मूल्यांकन गर्नुपर्ने उहाँको सुझाव छ।

प्रवास संगठन निर्माणको विषयमा पनि पार्टीले गम्भीर समीक्षा गर्नुपर्ने जोशीले बताउनुभएको छ। उहाँका अनुसार विदेशमा रहेका नेपालीहरूले पार्टीप्रति ठूलो आशा, विश्वास र सद्भाव राखेका छन्। प्रवासमा बसेर समय, श्रम, स्रोत र सम्बन्ध प्रयोग गरी संगठन विस्तारमा योगदान गर्ने साथीहरूको भूमिका पार्टीको मूलधारसँग जोडिनुपर्छ।

“प्रवासमा रहेका नेपालीहरू केवल सहयोगी शक्ति मात्र होइनन्, उनीहरू अनुभव, सीप, ज्ञान, पूँजी र अन्तर्राष्ट्रिय दृष्टिकोणका महत्वपूर्ण स्रोत हुन्,” जोशीले भन्नुभयो, “त्यसैले प्रवास संगठनलाई औपचारिकता मात्र नभई पार्टीको नीति, संगठन र भविष्य निर्माणको महत्वपूर्ण अंगका रूपमा लिनुपर्छ।”
पार्टीभित्र पारदर्शिता, जवाफदेहिता, निष्पक्ष मूल्यांकन, आन्तरिक लोकतन्त्र र योगदानको सम्मानको अभ्यास हुनुपर्ने बताउँदै जोशीले बाहिर सुशासनको कुरा गर्ने पार्टीले भित्र पनि न्यायपूर्ण प्रणाली, स्पष्ट मापदण्ड र संस्थागत निर्णय प्रक्रियालाई बलियो बनाउन सक्नुपर्ने बताउनुभएको छ।
केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिनुको उद्देश्य व्यक्तिगत पद प्राप्ति नभई प्रवासको आवाजलाई पार्टीको केन्द्रसम्म जिम्मेवारीपूर्वक पुर्‍याउने, प्रवास संगठनलाई अझ व्यवस्थित बनाउने, पार्टीभित्र योगदानको सम्मान र संस्थागत मूल्यांकनको संस्कृति बलियो बनाउने रहेको जोशीले बताउनुभएको छ।

उहाँले आफ्नो उम्मेदवारीलाई “प्रवासको अनुभव, संगठनप्रतिको निष्ठा र जिम्मेवारीबोधका साथ गरिएको उम्मेदवारी” का रूपमा व्याख्या गर्नुभएको छ।

रास्वपाको प्रथम महाधिवेशनमा प्रवास नेपाली सम्पर्क विभाग जापानबाट १० जना महाधिवेशन प्रतिनिधि छन् ।

यसमा तपाईको प्रतिक्रिया