टोकियो । गैरआवासीय नेपाली संघ (एनआरएनए) को महाधिवेशनको चहल पहल सुरु भएको छ । संघका उपाध्यक्ष डा. हेमराज शर्मा एक महिने एशियाली भ्रमणका क्रममा आज बिहीबार बिहान जापान आई पुगेका छन्।
गैरआवासीय नेपाली संघ जापानका अनुसार डा. शर्माले जनवरी ४ तारिख टोकियोमा आयोजना हुने अन्तरक्रिया कार्यक्रममा सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
आगामी फेब्रुअरी महिनामा हुने एनआरएनएको १२औँ महाधिवेशनमा अध्यक्ष पदका आकांक्षी डा. शर्माले संघभित्र एकताको सन्देश फैलाउने उद्देश्यका साथ विश्वव्यापी भ्रमणको तयारी गरेका छन्।
करिब २० वर्षअघि एनआरएनए जापानको महासचिव पदमा निर्वाचित भई एनआरएनए अभियानमा सक्रिय रूपमा संलग्न हुन थालेको स्मरण गर्दै डा. शर्माले एनआरएनए अभियान र जापानसँगको आफ्नो सम्बन्ध अटुट र मजबुत रहेको बताएका छन्।
डा. शर्माको सचिवालयका अनुसार भ्रमणका क्रममा उनले जापान, दक्षिण कोरिया, हङकङ, मलेसिया लगायतका देशमा रहेका गैरआवासीय नेपालीहरूसँग प्रत्यक्ष साक्षात्कार तथा अन्तरक्रिया गर्नेछन्।
करिब एक महिना लामो यस भ्रमणका क्रममा उनले गैरआवासीय नेपाली संघभित्रको एकता, आगामी महाधिवेशन, नेपालमा लगानीका सम्भावना, गैरआवासीय नेपाली नागरिकता लगायत विषयमा आफ्ना धारणा राख्ने कार्यक्रम रहेको छ।
यसअघि डा. हेमराज शर्माले एनआरएनएको १२औँ महाधिवेशनमा अध्यक्ष पदका लागि उम्मेदवारी दिने घोषणा गरिसकेका छन्।
गैरआवासीय नेपाली संघको १२औँ महाधिवेशन फेब्रुअरी २३, २४ र २५ तारिख काठमाडौँमा आयोजना हुँदैछ

