बिहिबार, बैशाख ०६, २०८१

पर्यटन विकास आयोजनाको प्रगति १३ प्रतिशत, २४ कार्यक्रम सम्झौता

हेटौंडा । प्रदेश तीनको उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालय अन्तर्गत स्थापना भएको पर्यटन विकास आयोजनाले चालु आर्थिक वर्षमा २४ वटा कार्यक्रमको सम्झौता गरेको छ ।

आयोजनाका अनुसार २४ वटा कार्यक्रम उपभोक्ता समितिसँग सम्झौता भइसकेको हो । २४ वटा आयोजनाका लागि ७ करोड १८ लाख रुपैयाँ बजेट विनियोजन गरिएको आयोजना प्रमुख राजु क्षेत्रीले जानकारी दिनुभयो ।

चालु आर्थिक वर्षका लागि आयोजनालाई ९१ करोड रुपैयाँ बजेट रहेको छ । आयोजनाले हालसम्म १३ दशमलव २७ प्रतिशत मात्रै खर्च गर्न सकेको जनाउको छ । आयोजनाले विभिन्न ९१ कार्यक्रमका लागि ११ करोड ३७ लाख ८६ हजार रुपैयाँ खर्च गरेको बताएको छ ।

डेढ करोड रुपैयाँको एउटा आयोजना ठेक्का प्रक्रियामा रहेको जानकारी दिँदै आयोजना प्रमुख क्षेत्रीले जुगल हिमाल आरोहणका लागि ४० लाख रुपैयाँ बजेट दिइएको पनि बताउनुभयो । पर्यटन विकास आयोजनाले हिमाल आरोहण प्रवद्र्धन, हिलस्टेसन प्रवर्द्धन, ऐतिहासिक सम्पदाहरुको संरक्षण र प्रवर्द्धन, पयर्टन मार्गको विकास र प्रवर्द्धन, साहासिक खेल पर्यटन प्रवर्द्धनजस्ता कार्यक्रमहरु गर्ने बताइएको छ ।

प्रदेश सरकारले काठमाडौं उपत्यका बाहेकका १० जिल्लामा नमुना पर्यटकीय गन्तव्य छनोट गरेर काम गर्ने आयोजनाले जनाएको छ । पर्यटन विकास आयोजनाले चालु आर्थिक वर्षका लागि १९२ वटा कार्यक्रम स्वीकृत गरेको छ भने पर्यटन ब्रान्ड र लोगोको समेत काम भइरहेको जनाइएको छ ।