काठमाडौं । बौद्ध धर्मका धर्मपाल मानिने माहाकालको जात्रा बौद्धमा पहिलो पटक विविध धार्मिक र सांस्कृतिक कार्यक्रमका साथ मनाइएको छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय अन्तर्गत श्री बौद्धनाथ क्षेत्र बिकास समितिले विभिन्न संघ संस्थासँगकाे समन्वयमा माहाकाल जात्रा सम्पन्न गरेकाे हाे । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री प्रसाद पाण्डे, रक्षा मन्त्री मानवीर राई, समितिका अध्यक्ष राजकुमार लामा, कार्यकारी माेहन कुमार लामा लगायतकाे सहभागितामा हिन्दु धर्मका पुरोहित ,बौद्ध धर्मका लामा गुरु र बज्राचार्य गुरुहरूबाट परम्परा अनुसार माहाँकालको साधना पुजा गरिएको थियोे ।
महाङ्कालको पूजाअर्चना गरी प्रसाद ग्रहण गर्दै पर्यटन मन्त्री पाण्डे र रक्षा मन्त्री राईले धार्मिक सहिष्णुता कायम राख्न समितिले गरेको कामको प्रशंसा गर्दै आगामी वर्षहरूमा पनि यसलाई निरन्तरता दिन शुभकामना व्यक्त गरे । जात्राकै कारण उपत्यकाकाे संस्कृति बच्नुका साथै पर्यटन प्रबर्द्धनमा सहयाेग पुग्ने भएकोले यस्ता खाले जात्राहरूलाई जगेर्ना गर्न आवश्यक रहेकाे उनीहरू बताउँछन् । हर्षोल्लासका साथ मनाइएकाे यस जात्रा ऐतिहासिक पक्ष मात्रै नभई पूर्णरुपमा धार्मिक विधिअनुरुप मनाईएकाे थियाे ।
साधना पुजा पश्चात विभिन्न झाँकी र लाखेसहित हजारौँको संख्यामा रहेका सहभागिहरुले बाजागाजा सहित महाकालको प्रतिमालाई खटमा राखी रथ शोभायात्रा महाकाल, रामहिटी चोक, तिनचुली, आनन्दपुर, भुवलडाडा , फुलबारी ,बौद्ध महाचैत्य परिक्रम गरी बौद्ध पिपलबाट, टुसाल, चुच्चेपाटी हुँदै पुन : माहाँकाल चोकमा ल्याई रथ बिसर्जन गरिएको थियाे ।
हिन्दू र बुद्ध धर्मावलम्वीले महाङ्कालप्रति उत्तिकै आस्था राख्ने हुँदा धार्मिक सहिष्णुता सदैव कायम होस् भन्ने कामनाका साथ लामा, बज्राचार्य र ब्राह्मण गुरूबाट महाङ्कालको पूजाअर्चना गरिएको समितिका कार्यकारी निर्देशक मोहनकुमार लामाले बताउनुभयो ।
महाकाल जात्राको परम्परागत थालनी गरिएको बताउँदै समितिका अध्यक्ष राजकुमार लामाले धार्मिक एवं ऐतिहासिक स्थल बौद्धमा आफ्नो तर्फबाट कुनै पनि कुराहरु अधुरो रहन नदिने र परम्परादेखि चल्दै आएका संस्कृतिसँग जोडिएका संस्कार, पूजाआजा लगायतका जात्राहरुले आर्थिक अभावका कारण अब रोकिनु नपर्ने बताए ।
महाङ्काल भैरवको साधना पुजाको लागी बिभिन्न संघ संस्थाको सहभागिता रहने गरी माहाँकाल जात्रा मूल समारोह समिति गठन गरिएको थियो । हिन्दू र वौद्ध धर्मावलम्बीहरुले महाकाललाई आस्थापूर्वक पूजा आराधना गर्ने गर्दछन् भने माडवारी समुदायले शनिदेवका रुपमा महाङ्कालको पूजा गर्ने गर्दछन् । महाङ्कालको दर्शन गरे जीवनमा संकटको समय आएका व्यक्तिहरुले दुःख, पीडा र समस्याबाट छुटकारा पाउन सक्छन् भन्ने विश्वाश छ । खराव कर्मको प्रायश्चित गर्दै सुधारको बाटोमा लाग्ने आशीर्वाद प्राप्त गर्न श्रद्धालुहरुले महाकालकाे दर्शन गर्ने गर्दछन् ।

