काठमाडौं । नेपाल मिडिया सोसाइटीको २२औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न साधारण सभाले सोसाइटीको अध्यक्षमा मदन लम्साल (आर्थिक अभियान) चयन भएका छन् । यसअघि सोसाइटीको अध्यक्षमा शुभशंकर कँडेल (एबीसी टिभी) थिए । जो कार्यसमितिमा निवर्तमान अध्यक्षको रूपमा रहनेछन् ।
काठमाडौंको होटल याक एन्ड यतिमा सम्पन्न २२औं वार्षिक साधारण सभाबाट उपाध्यक्षहरूमा धर्मराज भुसाल (हिमालय टिभी) र महेश स्वाँर (कान्तिपुर दैनिक), महासचिवमा बोधराज त्रिपाठी (सौर्य दैनिक), सचिवमा नवराज कुँवर (बुटवल टुडे दैनिक), कोषाध्यक्षमा जनक पन्त (टिभी टुडे) चयन भएका छन् ।
यसैगरी सदस्यहरूमा डा. बालकृष्ण चापागाईं (दैनिक पत्र दैनिक), निकिता पौडेल (गोपीकृष्ण टिभी फिल्मी), विनोद पौडेल (मिसन टुडे), सुरेन्द्रबहादुर सिंह (गौरीशंकर टिभी) र राजन पोखरेल (द हिमालयन टाइम्स) चयन भएका छन् ।
नयाँ कार्यसमितिको कार्यकाल चार वर्ष (२०८२–२०८५) अवधिको हुनेछ ।
प्रस्तावित मिडिया काउन्सिल विधेयक मिडिया क्षेत्रको प्रवर्धनका लागि भन्दा बढी नियन्त्रणकारी निकायका रूपमा थोपर्ने दुष्प्रयत्न देखिइरहेको भन्दै सोसाइटीले अहिलेसम्मको सरकारी रवैया, संसदीय समितिमा चलेका छलफल समेतलाई ध्यान दिएर आमसञ्चार माध्यमका लागि छाता ऐन निर्माण गरेपछि मात्र त्यससँग सरोकार राख्ने अन्य ऐन बनाउने स्वभाविक प्रक्रियामा फर्किन सार्वभौम संसद् र जिम्मेवार सांसदहरूसँग अनुरोध गरेको छ ।
यसैगरी विज्ञापन बजारमा सञ्चार संस्थाहरूबीचको अस्वस्थ प्रतिस्पर्धाले प्रतिकूलता थपिएको भन्दै सोसाइटीले यसलाई मर्यादित बनाउन न्यूनतम दर रेट र पारदर्शिता सहितको आचारसंहिताको पालना गर्न सम्मेलनमार्फत सम्पूर्ण सञ्चार उद्यमीहरूसँग आग्रह समेत गरेको छ ।

