मङ्गलबार, असार १०, २०८२

६० किलो सुन तस्करी प्रकरणमा फरार १९ जनाविरुद्ध पक्राउ पुर्जी जारी

काठमाडौं । काठमाडौं जिल्ला अदालतले ६० किलो सुन तस्करी प्रकरणमा फरार रहेका १९ जना प्रतिवादीहरूलाई ३५ दिनभित्र हाजिर हुन सूचना जारी गरेको छ ।

सोमबार अदालतले १९ जनाविरूद्ध पक्राउ पुर्जी जारी भएको तर अहिलेसम्म पनि मुद्दाको सुनुवाइमा नआएको भन्दै ३५ दिनको सूचना जारी गरेको हो । अदालतले चिनियाँ नागरिकहरू लुरोङ गोङ्बु, वाङ दाओजिङ, पेङ योङसिन, झोङ जियानहुवा, हेनेरी भन्ने झोङ जिङचुआन र पिङ लिङफेङविरुद्ध पक्राउ पुर्जी जारी भएको छ ।

त्यसैगरी नेपाली नागरिकहरूमा सिन्धुपाल्चोकका राम गुरूङ, झापाका लेखनाथ कार्की डोली, दोलखाका कुमार भुजेल, दोलखाकै विकेन्द्र भुजेल र पर्वतका जिवनकुमार गुरूङ, भारतीय नागरिकहरू अभिजित तानाजी मुलिक, माही भन्ने अगोल कलप्पा कुटे र कमलकान्त कुल्थियाविरूद्ध पनि पुर्जी जारी भएको छ ।

त्यस्तै काभ्रेका पाल्साङ लामा, बर्दियाका जीवन चलाउने, दोलखाका दिलिप भुजेल, उदयपुरका भिमबहादुर मगर र भारतका टासी शेर्पालाई हाजिर हुन आउन अदालतले सूचना प्रकाशन गरेको हो । अवैध सुन भन्सार चोरी पैठारी, संगठित अपराध, नागरिकता ऐन, राहदानी ऐन, नेपाल राष्ट्र बैंक ऐन, भुक्तानी तथा फछ्र्यौट ऐन, नागरिकता किर्ते तथा हातहतियार खरखजाना सम्बन्धी कसुरमा केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले २०८० भदौ ३१ गते २९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो ।