शुक्रबार, फागुन ०१, २०८२

बौद्धमा विविध कार्यक्रम गरि मनाईयाे बुद्ध जयन्ती

काठमाडौं । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतमको २५६९ औँ जयन्ती आज बौद्धमा विविध कार्यक्रम गरि मनाईएकाे छ । प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ ।

श्री बौद्ध तामाङ कल्याण गुठीको संयोजकत्वमा आयाेजित २५६९औं बुद्ध जयन्ती कार्यक्रम सम्पन्न भएको छ ।

साेमबार ४२ वटा संघसंस्था सहभागि बुद्ध जयन्ती मुल समारोह समितिले आयोजना गरेको औपचारिक कार्यक्रम बागमती प्रदेशका प्रदेश मामिला समिति संयोजक छिरिङ दोर्जे लामाको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियाे । समितिले वैशाख २४ गतेदेखि गरेको विद्यालयस्तरीय हाजिरी जवाफ, कविता वाचन, वक्तृत्वकला, चित्रकला प्रतियोगितामा उत्कृष्ठ प्रतियोगीहरुलाई आज पुरस्कार वितरण गरिएको थियो ।

श्री बौद्ध तामाङ कल्याण गुठीका अध्यक्ष जयमंगल लामाको सभापतित्वमा भएको २५६९औं बुद्ध जयन्ती कार्यक्रममा वडा नम्बर ६ का अध्यक्ष भुवन लामा, वडा सदस्य भगवान थापा, गायत्री पुडासैनी, लिला बिशुंखे,गुठिका प्रमुख लामा गुरु पूर्ण बहादुर लामा,बौद्ध सरसफाई केन्द्रका अध्यक्ष धनराज लामा, समाजसेवी व्यक्तित्वहरु,विभिन्न संघसंस्थाका पदाधिकारी लगायत, धर्मावलम्बीहरूको सहभागी रहेको थियो ।

सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पुर्याएको योगदानको स्मरण स्वरूप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मृत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।

आज बौद्ध धर्मावलम्बीले चैत्य, गुम्बा, विहारलगायत स्थलमा लामा एवं बौद्ध धर्मगुरु बसेर परम्परादेखि हुँदै आएको पूजालगायत विधि पूरा गर्ने गर्दछन्  ।

यस अवसरमा आज लुम्बिनी, स्वयम्भू, बौद्ध, काभ्रेको नमोबुद्ध लगायत स्थलमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइएको छ ।