काठमाडौं । भारत र पाकिस्तानबीच बढ्दो तनावका बीच नेपालले ‘छिमेकीविरुद्ध कुनै पनि शक्तिलाई आफ्नो भूमि प्रयोग गर्न नदिने’ प्रतिबद्धता दोहोर्याएको छ । शुक्रबार बालुवाटार पुगेका काठमाडौंस्थित भारतीय राजदूत नवीन श्रीवास्तवलाई प्रधानमन्त्री केपी शर्मा ओलीले कुनै पनि द्वन्द्वरत शक्तिलाई छिमेकीविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिइने बताए ।
‘नेपाल विश्व शान्तिको पक्षमा छ, सबै प्रकारका आतंकवादविरुद्ध दृढ अडान अनुरुप पहिल्यै आतंकवादी हमलाको भर्त्सना गरिएको छ’, ओलीले भनेका छन् । भारत–पाकिस्तान तनावबीच सार्वजनिक रुपमा फरक–फरक तथ्यहरू आइरहेका बेला जारी परिस्थितिबारे ब्रिफिङ गर्न राजदूत श्रीवास्तव बालुवाटार पुगेका थिए ।
त्यसक्रममा उनले पहलगाम हमलाको जवाफमा भारतले आतंकवादीविरुद्ध कारबाही गरेको प्रष्ट्याए । अन्य देशमा रहेका भारतीय मिसनले समेत यो बेला भा–पाक तनावबारे सम्बन्धित मुलुकलाई ब्रिफिङ गरिरहेका छन् । श्रीवास्तवले प्रधानमन्त्री ओलीसँग भेटका क्रममा आतंकवादविरुद्धको लडाइँमा नेपाल साथमा रहेको भन्दै विज्ञप्ति निकालेको प्रति धन्यवाद समेत दिए ।
‘यो कारबाही कुनै देशविरुद्ध लक्षित छैन, आतंकवादविरुद्ध मात्र लक्षित छ भन्ने कुरा प्रधानमन्त्रीज्यूसँग राखेको थिएँ’, शुक्रबार बेलुकी दूतावासमा सम्पादकहरुसँग छलफल गर्दै श्रीवास्तवले भनेका छन्, ‘त्यही अनुसार नेपालले राखेको अडानप्रति धन्यवाद समेत दिएको छु ।’
भारतले पाकिस्तानमा हवाई आक्रमण गरेको दुई दिनपछि परराष्ट्र मन्त्रालयले विज्ञप्ति जारी गर्दै ‘आतंकवादविरुद्धको लडाइँमा नेपाल सबैसँग एकजुट रहेको’ बताएको थियो । ‘पहलगाममा भएको आतंकवादी आक्रमणपछि भारत र पाकिस्तानबीच बढ्दो तनावप्रति नेपाल सरकार गहिरो चिन्ता व्यक्त गर्दछ’, विज्ञप्तिमा भनिएको छ, ‘भारत र पाकिस्तानबीच जारी तनाव चाँडै अन्त्य हुने अपेक्षा समेत गर्दछौं ।’
भारत प्रशासित जम्मु कश्मिरमा दुई साताअघि एक नेपाली र २६ भारतीय नागरिकको ज्यान जाने गरी आतंकवादी हमला भएको थियो । त्यसको जिम्मेवारी धार्मिक कट्टरपन्थी समूह ‘द रसिस्टेन्ट फ्रन्ट (टीआरएफ)’ ले लिएको थियो ।
काठमाडौंस्थित भारतीय राजदूत श्रीवास्तवले समेत प्रधानमन्त्री ओलीसँग नेपाली समेत मारिएको आतंकवादी हमलाको जवाफ दिइएको बताएका छन् । अर्थात्, नयाँ दिल्लीले पाकिस्तानमा भएको हवाई आक्रमणलाई आतंकवादविरुद्धको लडाइँको रुपमा सन्देश दिन खोजेको छ ।
भारतीय विदेशसचिव विक्रम मिस्रीले यसलाई थप बढाउने पक्षमा रहेको भन्दै शुक्रबार अपराह्न भनेका छन्, ‘हाम्रो जवाफ लक्षित, सटिक, संयमित र सन्तुलित रहेको छ, हाम्रो निशानामा सैन्य अखडा परेका छैनन् ।’