ललितपुर । नेकपा (एमाले)ले पार्टी स्थापना दिवस तथा लोकतन्त्र दिवसको अवसर पारेर आज भव्य ‘युथ सेलिब्रेशन’ कार्यक्रम आयोजना गर्दैछ। काठमाडौंको भृकुटीमण्डपमा दिउँसो १ बजे सुरु हुने कार्यक्रममा ४० वर्षमुनिका एक लाख युवाको सहभागिता रहने पार्टीले जनाएको छ।
कार्यक्रममा प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलले सम्बोधन गर्नेछन्। युवालक्षित यस कार्यक्रममा अधिकांश वक्ता युवा नै रहनेछन्। प्रतिनिधिसभा सदस्य सुहाङ नेम्वाङ, काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलसहित आनन्द सिंह, विष्णु पोखरेल, अश्विनी सेख, शिवकुमारी चौधरी, विशाल पुन, शर्मिला भण्डारी लगायतका युवा नेताहरूले आफ्नो धारणा राख्ने कार्यक्रम रहेको छ।
विभिन्न उमेर समूहका युवाहरूले आफ्नो विचार व्यक्त गर्ने र सांस्कृतिक कार्यक्रमहरू समेत प्रस्तुत गरिने आयोजकले जनाएको छ।
कार्यक्रममा सहभागी हुनेहरूका लागि पार्किङको व्यवस्थापन मिलाइएको छ। मोटरसाइकल र स्कुटरका लागि बग्गीखाना, मिनी तथा ठूला बसका लागि टुँडिखेल र साना गाडीका लागि रङ्गशाला तोकिएको छ।