काठमाडौं । दाङ्बाेला ग्युईठिम तामाङ संघले बौद्ध तेमाल जात्रा तथा नयाँ वर्ष २०८२ काे शुभकामना आदानप्रदान कार्यक्रम आयाेजना गर्ने भएको छ ।
“तामाङ कला संस्कृति र पहिचान, दाङबाेला ग्युईठिम बचाउने हाम्रो प्रतिबद्धता” भन्ने मुल उदेश्य बाेकेकाे संस्थाले तामाङ जातीको लोप हुन लागेको हरेक ऐतिहासिक विषयवस्तुलाई उठान गर्दै तामाङ वस्ती र समुदायसम्म जनचेतना, संस्कृति, परम्परालाई जगेर्ना गर्दै आएकाे संघका अध्यक्ष निकमार तामाङले जानकारी दिए ।
गोकर्णेश्वर नगरपालिकाकाे संयाेजनमा आगामी चैत २९ गते ऐतिहासिक, धार्मिक एवं सांस्कृतिक राष्ट्रिय पर्वकाे अवसरमा आयाेजित तामाङ माैलिक गितकाे प्रबर्द्धन गराैं भन्ने नाराका साथ “बौद्ध तेमाल जात्रा तथा नयाँ वर्ष २०८२ काे शुभकामना कार्यक्रम” गर्न लागिएको हाे । विगतका वर्षहरूमा गर्दै आएको साँस्कृतिक कार्यक्रमलाई यस वर्षपनि निरन्तरता दिने भएको हो ।
बौद्ध तेमाल जात्रा तामाङ समुदायको धार्मिक एवं सांस्कृतिक पहिचानको रुपमा रहेको जीवन्त पर्व हो। चैत पूर्णिमा अघिल्लो दिन बौद्धमा पूजापाठ गर्ने र पूर्णिमाको दिन बालाजु बाईस धारामा स्नान गरी स्वयम्भू महाचैत्यमा पुगेर पूजापाठ गरी तेमाल जात्राको समापन गरिन्छ। यस जात्रालाई बौद्ध जात्रा समेत भनिन्छ।
यस जात्रामा विशेषगरी तामाङ समुदायले दिवंगत आफन्तको चीरशान्तिका लागि बौद्ध महास्तूपमा छ्योमिबत्ती बाल्दै लामा गुरुहरुद्वारा विशेष पूजापाठ (ङोवा/मोन्लम) गर्छन्। जात्रा सुरु हुँदाताक तेमाल क्षेत्रका तामाङ मात्र सहभागी हुने भएकाले यसको नाम तेमाल जात्रा रहन गएको भनाइ छ।
अहिले यस जात्रामा सहभागी हुन काभ्रेको तेमाललगायत दोलखा, रामेछाप, मकवानपुर, ललितपुर, नुवाकोट, सिन्धुपाल्चोक, धनकुटा, भोजपुर, सर्लाही काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट तामाङ समुदायका मानिस आउँछन्।