काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तीनकुनेमा चैत १५ गते भएको घटनामा जो सुकै संलग्न भएको भएपनि कडा प्रशासनिक कारबाही हुने बताएका छन् । सोमबार प्रतिनिधिसभा र राष्ट्रिय सभालाई छुट्टाछुट्टै सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जो सुकै भए पनि कडा कारबाही गर्ने बताएका हुन् । राजावादीले तीनकुनेमा प्रदर्शनको क्रममा गत शुक्रबार हिंसात्मक प्रदर्शनको जिम्मेवारी पूर्वराजा ज्ञानेन्द्र शाहले लिनुपर्ने प्रधानमन्त्री ओलीले बताएका छन् ।
तीनकुने घटनाको पृष्ठभूमिमा पूर्वराजा ज्ञानेन्द्र शाह नै रहेको ठोकुवा गरे ।
यस्तो ठोकुवामा पुग्नु अगाडि उनले पूर्वराजा ज्ञानेन्द्रको गत ७ फागुनको अभिव्यक्ति स्मरण गरे । ‘पूर्वराजा ज्ञानेन्द्र शाहले गत ७ फागुनमा आफू अघि बढ्न साथ देऊ भन्दै वक्तव्यबाजी गर्नुभयो,’ प्रधानमन्त्री ओलीले भने । त्यसको लगत्तै ठाउँ-ठाउँमा पूर्वराजाको स्वागतमा कार्यक्रम राखिएको र जनमत भड्काउने काम सुरु भएको उनको भनाइ थियो ।
‘२५ फागुनमा कथित स्वागत सवारी आयोजना गरियो र १४ चैतमा समाज बिथोल्न लागि परेका एक जना अवाञ्छित व्यक्तिलाई आफ्नै निवासमा डाकेर कथित जनकमान्डर तोक्नुभयो र हिंसात्मक वारदातमा खटाउनुभयो ।’
२५ फागुनमा पोखराबाट जहाजमा काठमाडौं आएका पूर्वराजा ज्ञानेन्द्र शाहलाई उनका समर्थकले त्रिभुवन विमानस्थल बाहिर स्वागत गरेका थिए । निर्मल निवाससम्मै पुर्याउन समर्थकको र्याली निकालेका थिए । त्यसलाई प्रधानमन्त्री ओलीले ‘कथित स्वागत’ को संज्ञा दिएका हुन् ।
१५ चैतमा राजावादीले तीनकुनेमा प्रदर्शन गरेका थिए । उक्त प्रदर्शनमा पूर्वराजा ज्ञानेन्द्रले दुर्गा प्रसाईंलाई आन्दोलन कमान्डर तोकेका थिए । प्रसाईंलाई अवाञ्छित व्यक्तिको संज्ञा दिँदै प्रधानमन्त्री ओलीले त्यस्ता व्यक्तिलाई आन्दोलनको कमान्डर भनेर प्रर्दशनमा पूर्वराजा ज्ञानेन्द्रको आलोचना गरे ।