शुक्रबार, बैशाख ०५, २०८२

सरकार नेपाल-भारत सम्बन्धलाई अझ प्रगाढ बनाउन प्रतिबद्ध रहेको एमालेको भनाई

काठमाडौं । नेकपा एमालेले पार्टीको सचिवालय बैठक र प्रधानमन्त्री केपी शर्मा ओलीलाई जोडेर आएका समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

एमाले महासचिव शंकर पोखरेलले सोमबार विज्ञप्ति जारी गरी राजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्री ओलीले बोलेको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित भएको स्पष्ट पारेका हुन् ।

त्यस्ता समाचारले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशंका बढाउने दुराशय बोकेको विज्ञप्तिमा उल्लेख छ ।

‘नेकपा (एमाले)को हालै सम्पन्न सचिवालय बैठकसँग सम्बन्धित विषयमा केही नेपाली र विदेशी मिडियाहरूमा प्रकाशित समाचारबारे हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ । पूर्वराजावादीहरूको केही दिन अगाडिको प्रदर्शनलाई लिएर प्रधानमन्त्रीले भन्नुभएको भनेर प्रकाशित गरिएका विषय निराधार र अतिरञ्जित छन् । तिनले अनावश्यक सनसनी फैलाउने एवं नेपाल र भारत बिचको युगौं पुरानो सम्बन्धमा आशङ्का बढाउने दुराशय बोकेका छन्,’ विज्ञप्तिमा भनिएको छ ।

संसारका कुनै पनि लोकतान्त्रिक मुलुक र जनता लोकतन्त्रका ठाउँमा निरङ्कुशतन्त्रलाई प्रश्रय दिन सहमत हुन सक्दैनन् भन्ने कुरामा एमाले स्पष्ट रहेको विज्ञप्तिमा उल्लेख छ ।