मङ्गलबार, फागुन ०५, २०८२

सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला : महासचिव पोखरेल

विराटनगर । प्रेस चौतारी नेपालको १० औं केन्द्रीय महाधिवेशन विराटनगरमा उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै नेकपा एमालेका महासचिव शंकर पोखरेलले एकताबद्ध भएर सहमतिमा प्रेस चौतारीको नेतृत्व चयन गर्न निर्देशन दिएका छन् । चौतारीको १०औं राष्ट्रिय महाधिवेशन उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले संगठनलाई सानो र चुस्त बनाउन आग्रह गरे ।

उनले हिजोको विभाजनको पीडा व्यहोरेकाहरु पनि फर्केर आएकाले व्यवस्थापन गर्नेपर्ने बताए । प्रतिस्पर्धा र एकता कतिबेला गर्ने भन्ने बुझ्न नसके काम गर्न नसकिने उनको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘गणेश बस्नेतजीले एकताबद्ध संगठन बनाउन नेतृत्व गर्नुभएको छ । उहाँलाई सहयोग गर्न पार्टीका नेताहरु पनि यही हुनुहुन्छ । आवश्यक प¥यो भने भानुभक्त ढकाल, राजेन्द्र गौतम तपाईंहरुको बीचमै रहनुहुन्छ । मलाई लाग्छ, उहाँलाई खोज्ने अवस्था नै नआओस् । यो अवस्थामा सर्वसम्मत र एकताबद्ध रूपमा नेतृत्व निर्वाचित गर्नुहोला ।’
एकताबद्ध, छरितो र चुनौतीको सामना गर्नसक्ने संगठन बनाउन उनले आग्रह गरे ।

अध्यक्ष गणेश बस्नेतको अध्यक्षता तथा नेकपा एमालेका महासचिव शंकर पोखरेलको प्रमुख आतिथ्यतामा सुरु भएको अधिवेशनमा देश भरीका प्रेस चौतारी आबद्ध पत्रकारहरू भेला भएका छन् ।

अधिवेशनमा देशभरका झण्डै एक हजार पत्रकार जम्मा भएका प्रेस चौतारी नेपालका केन्द्रीय महासचिव हीरामान लामाले जानकारी दिए ।