मङ्गलबार, फागुन ०५, २०८२

नेवा: अन्तराष्ट्रिय फोरम जापानले गुफा (बारा) को आयोजना गर्दै

टोकियो । जापानमा नेवाःहरूको क्रियाशील संस्था नेवा: अन्तराष्ट्रिय फोरम जापान ले गुफा (बारा) को आयोजना गर्ने भएको छ।

अप्रिल १२ तारिख, शनिबारका दिन टोकियो ईचिगाया स्टेशन नजिक अवस्थित बिहारमा गुफा कार्यक्रम आयोजना गर्न लागिएको जानकारी संस्थाका अध्यक्ष रूपेश डंगोलले दिनुभएको छ।

डंगोलका अनुसार, यही मार्च १ तारिखका दिन सामूहिक बेल विवाह (ईही) र ब्रतबन्ध (केयता पूजा) सम्पन्न गरिसकेपछि, बालिकाका अभिभावकहरूबाट गुफा (बारा) आयोजना गर्न अनुरोध आएको थियो। यसलाई ध्यानमा राख्दै, संस्थाले आवश्यक तयारीहरू गरिरहेको जानकारी उहाँले दिनुभयो।

नेवारी संस्कार अनुसार, कुनै पनि बालिका किशोरावस्थामा प्रवेश गरेपछि गुफा (बारा) राखिन्छ। बालिका महिनावारी हुनु केही वर्षअघि नै घाम नपस्ने अँध्यारा कोठामा १२ दिनसम्म गुफा बस्ने परम्परा छ, जसलाई सूर्यसँग विवाह गरिएको रूपमा लिइन्छ। यसलाई दोस्रो विवाह पनि मानिन्छ, किनभने यसअघि बालिकाहरूको बेल विवाह (ईही) गर्ने परम्परा रहिआएको छ।

हाल, लामो समयसम्म गुफा बस्ने चलनले धेरै चुनौतीहरू ल्याएको कारण एक रात मात्र बौद्ध विहारमा गुफा राख्ने नयाँ परम्परा नेपालमा प्रचलित हुँदै आएको छ। यही परम्परालाई जापानमा पनि अनुसरण गर्दै एक रातको गुफा कार्यक्रम आयोजना गर्न लागिएको संस्थाका महासचिव शिव तण्डुकार ले जानकारी दिनुभयो।

जापानमा हुने गुफा (बारा) कार्यक्रममा सहभागी गराउन इच्छुक अभिभावकहरूले अप्रिल १ तारिखसम्म नाम टिपाउन आग्रह गरिएको छ।

सम्पर्क नं: ०८०-६५५५-६६६७