शुक्रबार, बैशाख ०५, २०८२

विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूत हुन् : मन्त्री पाण्डे

थाइल्याण्ड : गैरआवासीय नेपाली संघ (एनआरएनए) को दोस्रो अन्तर्राष्ट्रिय युवा तथा पिएनओज् सम्मेलन थाइल्याण्डमा शनिबारबाट (१५ मार्च २०२५) सुरु भएको छ । “Empowering the Youth, Shaping the Piano’s Future” (इम्पावरिङ द युथ, शार्पिङ द पिएनओज फ्युचर’) भन्ने मूल नाराका साथ सुरु सम्मेलन दुई दिनसम्म चल्नेछ ।
नेपालबाट युवाहरूको विदेश पलायन भइरहेको र देशमा सक्रिय जनसंख्या घट्दै गएको अवस्थामा, सम्मेलनमार्फत नेपाली प्रवासी युवाहरूलाई सशक्त बनाई उनीहरूलाई नेपालको समृद्धि र विकाससँग जोड्ने मुख्य उद्देश्य रहेको छ ।
कार्यक्रमको उद्घाटन संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले गर्नुभयो । सो अवसरमा सम्बोधन गर्दै मन्त्री बद्री पाण्डेले विदेशमा बस्ने हरेक नेपालको वास्तविक राजदूतको भूमिका निर्वाह गरिरहेको बताउनुभयो । उहाँले भन्नुभयो, “ म जहिले पनि बीपी कोइरालाज्यूको विचारलाई साभार गर्छु, उहाँ भन्नुहुन्थ्यो विदेशमा रहेका हरेक नेपाली अनौपचारिक राजदूत हुन्, वास्तवमै हो महामहिम ज्यूहरु त औपचारिक मात्रै हुनुहुन्छ जुन क्षणिक हो । तर तपाई एनआरएनहरु वास्तविक र स्थायी राजदूत भएर काम गरिरहनुभएको छ ।ʼ
नेपालले एकता र सहमतिको वातावरण निर्माण गर्न अपरिहार्य रहेको उहाँको भनाई थियो। उहाँले भन्नुभयो, “लोकतन्त्रलाई अगाडी बढाउने गतिमा देश बाहिर भित्र जे भएपनि त्यो प्रतिस्पर्धाभित्र एकता, सहमति, परिवर्तन र सुधार र अग्रगमनको यात्राको गतिमा कमी आउन दिनुहुन्न । यही भावना तपाई एनआरएनभित्र पनि हुनु जरुरी छ । अहिले जे जस्तो अवस्था छ त्यसबाट छुट्कारा पाउन पनि प्रतिस्पर्धालाई होइन एकता र सहमतिलाई प्राथमितामा राख्नु जरुरी छ ।”
एनआरएनले नेपालको सन्देशबहाक भएर नेपाललाई विश्वभरि चिनाउनतर्फ ध्यान दिनुपर्ने, संस्कृतिको आदानप्रदानलाई अघि बढाउन पुलको काम गरिरहेको र त्यसले निरन्तरता पाउनुपर्नेमा उहाँले जोड दिनुभयो । थाइल्याण्डलाई नेपालको संस्कृतिसँग नेपालको बुद्धत्वसँग धार्मिक पर्यटनसँग जोड्न सक्नुपर्ने मन्त्री पाण्डेले जोड दिनुभयो । पीएनओज्का विषयमा सरकारले काम थालिसकेको र उहाँहरु नेपाली संस्कृति र इतिहासका अमूल्य निधि भएको उहाँको भनाई थियो । नेपालमा पूँजी मात्रै नभई ज्ञान सीप र प्रविधि भित्र्याउने एनआरएनको एउटै मात्रै लक्ष्य हुनुपर्छ न कि दलीय राजनीतिको प्रभाव ।
एनआरएनलाई सुदुर भविष्यसँग जोडिरहने र जसका माध्यमबाट नेपाली भाषा संस्कृति विश्वभरि चिनाउने उद्देश्यले पीएनओसँग जोडेर आयोजित कार्यक्रमले रचनात्मक र सकारात्मक सन्देश दिएको मन्त्री पाण्डेले बताउनुभयो ।