गृहमन्त्री रमेश लेखकले गणतन्त्रको विकल्पका रूपमा राजतन्त्र हुन सक्छ भन्ने भ्रममा नबस्न पूर्वराजलाई आग्रह गर्नु भएको छ ।
आज सुर्खेतको वीरेन्द्रनगरमा पत्रकारहरूसँग कुराकानी गर्दै गृहमन्त्री लेखकले केही मानिसले गणतन्त्रको विकल्प राजतन्त्र हुन्छ भन्ने फैलाएको भ्रममा पूर्वराजलाई हौसिन आवश्यक नरहेको बताउनु भएको हो ।
उहाँले आन्दोलन गरेर फालिसकेको राजसंस्था र राजालाई लोकतन्त्रमा प्रवेश गरिसकेका जनताले फेरि फर्काएर ल्याउँछन् भनेर कसैले विश्वास गर्न नहुने बताउनु भयो ।
सामान्यतया: आन्दोलनबाट फालिसकिएको राजसंस्थाका राजा उसै देशमा सबै स्वतन्त्रतापूर्वक उपभोग गरेर बसेको इतिहास विरलै भेटिने गरेको जनाउनु भयो ।
लोकतन्त्रमा संयमित, परिष्कृत, उद्धार र सहिष्णुता रहेकोको बताउँदै उहाँले जनताले फालिसकेको राजसंस्थाका राजाले स्वतन्त्रतापूर्वक अधिकारको उपभोग गरेर बसिरहेको बताउनु भयो । उहाँले कसैले पनि लोकतन्त्रलाई कमजोरीका रूपमा नलिन समेत आग्रह गर्नु भयो ।