बुधबार, साउन ०१, २०८२

जापान नेपालको हितैषी र विकासको सहयात्रीः उपराष्ट्रपति यादव

काठमाडौँ । उपराष्ट्रपति रामसहायप्रसाद यादवले जापान नेपालको हितैषी मित्र र दीगो विकासको सहयात्री भएको बताएका छन् । नेपाल जाइका अलमनाई एसोसियसन (जान) को ५१औं वार्षिकोत्सवका अवसरमा शनिबार आयोजित समारोहलाई सम्बोधन गर्दै उनले नेपालको विकास प्रयासमा जापानले गरेको योगदानको उच्च मूल्याङ्कन गरे ।

“नेपाल र जापानबीच ‘एसियाका ज्योति’ भगवान बुद्धको शिक्षाबाट प्रभावित युगौँ पुरानो सामाजिक–साँस्कृतिक सम्बन्ध छ”, उपराष्ट्रपतिले भने, “समय–समयमा दुई देशबीच हुने गरेका उच्चस्तरीय भ्रमण तथा विचार आदानप्रदानले हाम्रो सम्बन्धलाई थप मजबुत बनाएको छ ।”

उनले नेपालको सामाजिक तथा आर्थिक विकासमा महत्वपूर्ण भूमिका निर्वाह गर्दै आएकामा जापान सरकारलाई धन्यवाद दिँदै जापानी आर्थिक सहयोगका प्रमुख क्षेत्रहरूमा मानव संशाधन विकास, स्वास्थ्य, कृषि विकास, पूर्वाधार विकास, वातावरण संरक्षण, संस्कृतिलगायतको रहेको बताए ।

“नेपालले जापानको अनुभव, ज्ञान, सीप र प्रविधिबाट लाभान्वित हुन चाहेको छ”, उपराष्ट्रपति यादवले भने, “नागढुङ्गा सुरुङमार्गको सुरुवातसँगै सडक पूर्वाधारको विकासमा जापानको सहयोग प्रशंसनीय छ ।”

उनले ‘जान’ ले नेपाल र जापानको सुमधुर सम्बन्धलाई जनस्तरसम्म पुर्याउन र जापानमा सिकेको ज्ञान, सीप र प्रविधिलाई नेपालको विकासमा लगाउने दिशामा पुर्याउँदै आएको योगदान महत्वपूर्ण रहेको बताए ।

“यो संस्थाले ग्रामीण क्षेत्रमा सामुदायिक विकासका काम सुरु गर्नु सकारात्मक छ”, उनले भने, “यी कार्यहरूलाई थप ग्रामीण भेगमा विस्तार गर्न सक्नुपर्दछ ।”

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीले नेपालको विकासका लागि नीति निर्माण गर्ने, उन्नत कार्य संस्कृति वातावरण तयार गर्ने, उन्नत विकास र नविनतम् प्रविधिको प्रयोगका लागि जापानबाट सिक्ने र सिकाउने वातावरणका लागि जानले नेतृत्वदायी भूमिका अझ विस्तार गर्नुपर्ने बताए ।

राष्ट्रिय आप्रवासन नीति तयार गर्न लागेको सन्दर्भमा वैदेशिक रोजगारीमार्फत श्रम शक्तिको विकास गर्ने अवसर र चुनौतीको विश्लेषण गर्नुपर्ने विषयमा जोड दिँदै मन्त्री भण्डारीले श्रम, रोजगार र सामाजिक विकासमा जान, नेपाल र जापान सरकारको बीच सहकार्यका आवश्यक रहेको बताए ।

जापान नेपालको प्रमुख श्रम गन्तव्यका रुपमा रहेको उल्लेख गर्दै मन्त्री भण्डारीले जापानी श्रम बजारको माग पूर्ति गर्नेगरी नेपालले बेलैमा सोच्नुपर्ने आवश्यकता औँल्याए । “मर्यादित भर्ना प्रक्रियाबाट कसरी नेपाली श्रमिक जापान पठाउन सक्छौँ, जापानमा सीकेका श्रम, सीप र पुँजीसहित कसरी स्वदेशमा फर्काउन सकिन्छ भन्ने बारेमा सबैले ध्यान दिनुपर्छ”, उनले भने ।

बाध्यात्मक वैदेशिक रोजगारी अन्त्य गर्ने सरकारको नीति रहेको उल्लेख गर्दै उनले सरकारले आन्तरिक रोजगारी दशक घोषणा गर्न लागेको जानकारी दिए ।