सोमबार, असोज २१, २०८१

काँग्रेसको पनि पथ प्रदर्शक थिए पुष्पलाल श्रेष्ठ

✍️पृथ्वीराज ढुङ्गेल :-हालको प्रदेश नम्बर ३को रामेछाप जिल्ला सदरमुकाम मन्थलीबाट करिब ५ किलो मिटरको यात्रा पछि पुगिन्छ भंगेरी जहाँ नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको जन्म घर हो । तत्कालीन जहानिय राणा शासनको जरो नेपालबाट उखेलेर बहुदलीय व्यवस्थाको बिरुवा रोपी नेपालमा कम्युष्टि आन्दापार्टीको स्थापना गर्ने संस्थापक महासचिव हुन् पुष्पलाल श्रेष्ठ ।

विक्रम संवत् १९८१ साल असार १५ गते पिता भक्तलाल र माता तुलसीमाया श्रेष्ठको कोखबाट जन्मीएका पुष्पलाल नेपाली बाम आन्दोलनका एक महान् अभियान्ता समेत हुन् । उनका दाजु गंगालालको नेपालबाट राणा शासनको जरो उखेल्ने सपनालाई अभियानका रुपमा उजागर गरेर हातमा हात थप्ने हस्ती हुन् पुष्पलाल । उनका दाजु गंगालालले राणा शासनको अन्त्य गर्ने अभियान चलाएको बेला वि.सं १९९७ मा गोली हानी उनको हत्या भयो अनि सुरु भयो पुष्पलालको राजनीनिक जीवन यात्रा ।

वि सं. २००६ सालमा नेपाल कम्युनिष्ट पार्टीको स्थापना गरी आफु महासचिव समेत रहेका पुष्पलालको सकृयतामा निरंजनगोविन्द वैद्य, नरबहादुर कर्माचार्य, नारायण विलास जोशी तथा मोतीदेवी श्रेष्ठको सकृयता रहेको थियो ।

वि.सं २००६ सालमा नेपाल कम्युष्टि पार्टी नामले स्थापना गरिएको भए पनि पछिल्लो समय विभिन्न कारणले अहिले नेकपा (एमाले), नेकपा माओवादी केन्द्र, नेकपा (माले), नेकपा (संयुक्त), नेमकिपा, नेकपा (क्रान्तिकारी माओवादी), नेकपा, नेकपा (माक्रसवादी), नेकपा (मलास) लगायतका विभिन्न भागमा विभाजन भएका छन् ।

नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव तथा संयुक्त जनआन्दोलनका प्रणेता पुष्पलाल श्रेष्ठको ३९ औं स्मृति दिवस शनिबार मन्थलीमा रहेको पुष्पलालको शालिकमा माल्यार्पण गरियो भने आइतबार उनको जन्मघर रामेछापको भंगेरीमा विभिन्न कार्यक्रम गरी मनाइँदै छ ।

नेपालको राजनीतिक क्षेत्रमा कम्युनिष्ट पार्टीको स्थापना गरी सकृय रुपमा लाग्नु अघि उनको पहिलो यात्रा बनारसमा स्थापित नेपाली राष्ट्रिय काँग्रेस पार्टीको कार्यालय सचिव रहेका थिए ।

नेपालको राजनीतिमा प्रवेश गर्नु अघि उनले नेपालमा कम्युष्टि पार्टीको आवश्यकता महसुस गर्नुको प्रमुख विषय परिवर्तन थियो । चीनमा भइरहेको क्रान्ति र सफलता, विश्वका देशमा भइरहेको मुक्ति आन्दोलन र दोस्रो विश्व युद्धबारे सफल अध्ययन पछि नेपालमा पनि कम्युनिस्ट पार्टीको स्थापनाको आवश्यकता महसुस गरी नेपाल कम्युष्टि पार्टीको स्थापना गरेका थिए ।

विसं २००५ मा माक्र्स एंगेल्सद्वारा लिखित ‘कम्युनिस्ट पार्टीको घोषणापत्र’को पहिलो पटक नेपाली भाषामा अनुवाद गरी प्रकाशित गरेका थिए । त्यतिबेला प्रकाशित गरिएको पुस्तकमा नेपाली समाजको वर्ग विश्लेषण गरिएको छ ।

नेपालमा नै राजनीतिक रुपमा सक्रिय हुन थाले पछि उनले आफैँले विकास गरी पूँजीवादी पार्टी सम्झौतापरस्त हुनाले प्रजातान्त्रिक क्रान्तिको नेतृत्व श्रमिक वर्गले गर्नुपर्ने र प्रजातन्त्रको चरित्र पनि चीनको जस्तो नयाँ खाले हुनुपर्छ भन्ने स्पष्ट रुपले उल्लेख गरि प्रचार प्रसार गरेका थिए । पहिलो पटक प्रकाशित भएको पार्टीको घोषणापत्रमा पुष्पलालले नेपाली क्रान्ति नयाँ प्रजातन्त्रको बाटोबाट अघि बढ्नुपर्ने कुरा अघि सारेका थिए ।

उनको राणा शासन विरुद्धको आवज बुलन्द बनाउदै लैजाँदा पटक पटक कारवास समेत भोगेर आफुले गरेको संघर्ष नेपालको इतिहासलाई ऐतिहासिक–भौतिकवादी दृष्टिकोणले अध्ययन–अन्वेषण गर्नुनै मुख्य महत्व दिएको देख्न सकिन्छ । आफ्नो राजनीतिक यात्रालाई अघि बढाउँदै लैजाँदा गरेको उनको सैद्धान्तिक दृढता, दूरदर्शिता, सिर्जनशीलता, क्रान्तिकारिता र व्यावहारिक नीति–निर्माण भुल्न सकिँदैन ।

प्रजातान्त्रिक आन्दोलनमा महत्वपूर्ण भूमिका खेलेका पुष्पलालको पहिलो राणा विरुद्ध आन्दोलनको सुरुवात भने रामेछापबाट नभइ पाल्पा र भैरहवा क्षेत्रमा वि सं २००० मा घरबाट भागेर निस्की गरेका थिए । त्यस पछिका उनको राणा विरुद्धको गतिविधि निकै सकृय हुँदै गएको इतिहाँस रहेको छ ।

संयुक्त जनक्रान्ती मार्फत राणा शासन र सामन्तवादको पूर्ण आन्दोलन गर्ने अभियान चलिरहँदा तत्कालीन काँग्रेस राण र भारतबीच दिल्ली सम्झौता भए पनि उनको अभियान केहि समयको लागि रोकिएको थियो । निर्वाचनबाट स्थापना भएको संसद्को हत्या काँग्रेसको सक्रियतामा भए पछि उनको पहिलो प्राथमिकता त्यसको पुनः स्थापना रहेको थियो ।

पुष्पलाल प्रजातन्त्रवादी र साम्यवादीको संयुक्त जनान्दोलनबाट प्रजातन्त्र पुनःस्थापना गर्न सकिने मान्यता राख्ने नेताको रुपमा चिनिएका थिए । पुष्पलालको यो मान्यतालाई कांग्रेसले नमान्दा निरंकुश पञ्चायती ब्यवस्था ३० वर्षसम्म टिकेको थियो । पुष्पलालको देहावसानपछि पुष्पलालकै राजनीतिक कार्यदिशा अनुरुप कम्युनिस्ट पार्टी र नेपाली कांग्रेसको संयुक्त आन्दोलनले पञ्चायती ब्यवस्था ढलेको थियो ।

संयुक्त जनआन्दोलन सम्बन्धी पुष्पलालको कार्यदिशालाई नेपाली कांग्रेसले लामो समयसम्म आस्वीकार गर्यो भने पुष्पलालको सो विचारलाई उग्रपन्थी विचार राख्ने कम्युनिस्ट समुहहरुले कांग्रेसपरस्त विचार भन्दै प्रहार गर्दै आए ।

तर, ०४६ सालमा पुष्पलालको सोही विचारलाई सार्थकता दिंदै कम्युनिस्ट पार्टीहरुको बाममोर्चा र नेपाली कांग्रेसले संयुक्त जनआन्दोलन गरे । फलस्वरुप पञ्चायती ब्यवस्था पराजित भई मुलुकमा बहुदलीय ब्यवस्था स्थापना भयो । पुष्पलालको यो विचारलाई नेपाली राजनीतिमा दूरदर्शी विचारका रुपमा सबै राजनीतिक समुहले लिने गरेका छन् ।

नेकपाका संस्थापक महासचिव पुष्पलालले विसं २००७ को जनक्रान्तिमार्फत सामन्तवादको पूर्ण उन्मूलन गर्नुपर्ने अभियानमा सुरु गरे पनि उनको त्यो क्रान्तिलाई अधुरै राखी काँग्रेस, राजा, राणा र भारतबीच दिल्ली सम्झौता भएपछि निराश बनेका थिए । नेपालको कम्युनिस्ट आन्दोलन, लोकतान्त्रिक संघर्ष, सामाजिक मुक्ति एवं राष्ट्रिय स्वाधीनताको आन्दोलनमा नेता पुष्पलालका योगदान अविस्मरणीय छन् ।

उनले राष्ट्रिय राष्ट्रिय काँग्रेसमै हुँदा नै माक्र्सवादी साहित्यको अध्ययन थालेका थियो । त्यस बेला नै उनले कम्युनिस्ट घोषणापत्र, सोभियत रुसमा व्यक्ति र समाज, माक्र्सवाद के हो, चिनियाँ क्रान्ति र चिनियाँ कम्युनिस्ट पार्टी, गाउँका गरिबलाई अपिलजस्ता पुस्तक नेपाली भाषामा उल्था गरेका थिए । उनका नेपाली इतिहास, नौलो जनवाद, नेकपासम्बन्धी कृति प्रकाशित छन् ।

पुष्पलालको निधन २०३५ साउन ७ गते भारतको नयाँ दिल्ली अस्पतालमा भएको थियो । तत्कालीन निरंकुश पञ्चायती व्यवस्थाले उनको शवसमेत नेपाल ल्याउन दिएको थिएन ।