काठमाडौँ । राष्ट्रिय सभाका सदस्य वामदेव गौतमले अध्यादेश जारी गर्दा सरकारले प्रतिपक्षलाई पनि साथ लिनुपर्ने बताएका छन् ।
आइतबारको राष्ट्रिय सभा बैठकमा गौतमले अध्यादेश सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना भएपनि प्रतिपक्षीको सल्लाहमा जारी गर्नु उचित हुने बताएका हुन् ।
उनले अध्यादेश नानी बाबुहरूले घर पुतली खेले जस्तो विषय नभएको बताए । उनले प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्ने बताए । उनले भने, ‘अध्यादेश मुख्यतः राज्य सञ्चालन सत्ताधारी शक्तिलाई सकारात्मक सहयोग पुग्नेगरी निर्माण गरिएको संवैधानिक संरचना हो । तर प्रजातान्त्रिक परिपाटी उल्लंघन नहोस् भनेर अध्यादेश जारी गर्न धेरै सर्तहरू पूरा गर्नुपर्छ ।’
गौतमले नेपालमा समाजवाद निर्माण गर्न सकिने र समाजवाद निर्माणको समय तोकेर जिम्मेवारी दिए आफूले पूरा गर्ने दाबी गरे । उनले समाजवाद ल्याउन नसकेको खण्डमा मृत्युदण्डका लागि समेत आफू तयार रहेको बताए ।
उनले आजको आवश्यकता समाजवाद निर्माण गर्ने भएको बताए । उनले भने, ‘समाजवादको संरचना निर्माण गर्न सकिन्छ । म आफूलाई दाउमा राख्न चाहन्छु। मलाई मृत्युदण्ड दिइयोस् यदि समाजवाद निर्माण हुन सकेन भने ।’