आइतबार, जेठ १०, २०८३

उमाकुण्ड गाउँपालिकालाई बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता !

उमाकुण्ड गाउँपालिकालाई २०८३ सालको माघ मसान्तसम्म बालमैत्री स्थानीय शासन घोषणा गर्ने प्रतिबद्धता गाउँपालिकाले गरेको छ ।

उमाकुण्ड गाउँपालिकाका अध्यक्ष शेर बहादुर सुनुवार, उपाध्यक्ष सावित्री सुनुवार र प्रमुख प्रशासकीय अधिकृत अभिनय अधिकारी लगायत गाउँपालिकाका सबै जनप्रतिनिधिहरूको उपस्थिति र सहमतिमा सो प्रतिबद्धता गर्नुभएको छ ।

गाउँपालिकाले जनप्रतिनिधिहरू र बाल सरोकारवालाहरूका लागि आयोजना गरेको बालमैत्री स्थानीय शासन सम्बन्धी दुई दिने अभिमुखीकरण कार्यक्रममा अध्यक्ष, उपाध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतले सो प्रतिबद्धता व्यक्त गर्नुहुँदै प्रतिबद्धता पत्रमा हस्ताक्षर समेत गर्नुभयो ।

सो प्रतिबद्धता पत्रमा गाउँपालिकाका सबै जनप्रतिनिधिहरूले हस्ताक्षर गरेर २०८३ साल माघ मसान्तसम्म उमाकुण्ड गाउँपालिकालाई बालमैत्री स्थानीय शासन पालिका घोषणा गर्ने सामूहिक प्रतिबद्धता जनाउनु भएको छ ।

सो अवसरमा बोल्नुहुँदै गाउँपालिका अध्यक्ष सुनुवारले तोकिएको समयभन्दा अघि नै घोषणा गर्ने गरी काम गर्नुपर्ने जनाउनुहुँदै त्यसका लागि सबै वडा कार्यालयहरूले पनि सोही बमोजिम गरिदिन हुन आग्रह गर्दै गाउँपालिकालार्इ बालमैत्री शासन घोषणा गर्ने प्रतिबद्धतालाई पूरा गर्न सबै गाउँपालिकावासीको पनि सहयोग र समर्थनको खाँचो रहेको बताउनुभयो ।

सोही अवसरमा बोल्नुहुँदै गाउँपालिकाका उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत र गाउँपालिका प्रवक्तले गाउँपालिकालाई बालमैत्री पालिका घोषणा गर्न सबैले मिलेर बालमैत्री शासनका लागि चाहिने सूचकहरू पूरा गर्दै जसरी पनि २०८३ साल माघसम्म बालमैत्री शासन घोषणा गरेरै छाडिने बताउनुभयो ।
सो अभिमुखीकरण कार्यक्रममा बालमैत्री स्थानीय शासन सम्बन्धी विभिन्न सूचक र त्यसलाई कार्यान्वयनका बारेमा जनप्रतिनिधिहरू र सरोकारवालाहरूलाई जानकारी गराइएको उमाकुण्ड गाउँपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख कविता सुनुवारले बताउनुभयो ।

कार्यक्रममा उमाकुण्ड गाउँपालिकाका अध्यक्ष, उपाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत, वडा अध्यक्षहरू, कार्यपालिकाका सदस्यहरू, वडा सदस्यहरू, विभिन्न शाखाका प्रमुख लगायत कर्मचारीहरू, माध्यमिक विद्यालयका प्रधानाध्यपकहरू, बाल क्लब र बालअधिकार समितिका पदाधिकारीहरू, टोल विकास समितिका पदाधिकारीहरू, विभिन्न सङ्घसंस्थाका प्रतिनिधिहरू, महिला स्वयंसेवकहरू लगायतको सहभागिता रहेको थियो ।