मङ्गलबार, असार १०, २०८२

कांग्रेस एमाले कार्यदलले सबै राजनीतिक दलसँग छलफल गरेरै संविधान संशोधन गर्छः उपप्रधानमन्त्री

रुपन्देही । उपप्रधान एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले सबै राजनीतिक दलहरूसँग छलफल गरेरै संविधान संशोधनको प्रक्रिया अघि बढाउने बताएका छन् ।

बुधबार रूपन्देहीमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै उपप्रधानमन्त्री सिंहले संविधान संशोधनका लागि कांग्रेस, एमालेको कार्यदल बनिसकेको र कार्यदलले आन्तरिक रूपमा काम गरिरहेको बताए ।

‘संविधान संशोधनको प्रक्रियालाई अगाडि बढाउन कांग्रेस र एमालेको कार्यदल गठन भइसकेको छ । कार्यदलले सबै राजनीतिक दलसँग छलफल गर्छ । सबै दलहरूसँग गरेर नै संविधान संशोधनको प्रक्रिया अगाडि बढ्छ ।’ उनले भने ।

उपप्रधानमन्त्री सिंहले कोभिडपछिको धरायशी अर्थतन्त्रलाई चलायमान बनाउन र लयमा ल्याउन सरकारले काम गरिरहेको र अहिले सुधारको संकेत देखिन थालेको बताए ।

‘कोभिडपछिको अर्थतन्त्र उकास्न सरकारले काम गरिरहेको छ । अर्थतन्त्रलाई चलायमान बनाउन सरकारको ध्यान केन्द्रित छ’ उपप्रधानमन्त्री सिंले भने, ‘अर्थतन्त्र सुधार्न उच्च स्तरिय संयन्त्र बनाएका छौँ । अर्थतन्त्र चलायमान र लयमा ल्याउन सरकारले काम गरिरहेको छ ।’

उपप्रधानमन्त्री सिंहले बुधबार रूपन्देहीको सियारी गाउँपालिकामा सियारी पर्यटन करिडोरको शिलान्यास र दयानगर दानव लिफ्ट सिञ्चाई योजनाको उद्घाटन गरेका छन् ।