मङ्गलबार, असार १०, २०८२

उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको निष्कर्ष :माओवादी

काठमाडौँ । नेकपा माओवादी केन्द्रले स्थानीय तह उपनिर्वाचनको नतिजाले कांग्रेस–एमालेको जनमत ह्रासोन्मुख देखिएको निष्कर्ष निकालेको छ ।

पार्टीका मातहतका कमिटीमा सर्कुलर पठाउँदै माओवादीले उपनिर्वाचनको नतिजा पार्टीका लागि उत्साहजनक रहेको बताएको हो ।

सर्कुलरमा भनिएको छ, ‘कयौँ स्थानमा कांग्रेस र एमालेको गठबन्धनका साथै राज्यशक्तिको चरम दुरुप्रयोगका बावजुद पनि ती दुई पार्टीको जनमत ह्रासोन्मुख अवस्थामा देखिएको छ ।’

उपनिर्वाचनमा पार्टीको सिङ्गो पङ्ति एकढिक्का देखिएको र हरेक स्थानमा नेतृत्व तहका नेताहरू समेतको क्रियाशीलताले निर्वाचनलाई परिणाममुखी बनाउन सफल रहेको देखिएको सर्कुलरमा उल्लेख गरिएको छ ।

त्यस्तै माओवादीले अर्को पार्टीमा छाडेर आएमा आएकै पद दिने पनि सर्कुलरमा उल्लेख गरेको छ । सर्कुलरमा भनिएको छ, ‘विगतमा एकीकरण/समायोजन/पार्टी प्रवेश भएका कतिपय कमरेडहरूको सन्दर्भमा सांगठनिक जिम्मेवारी व्यवस्थापनमा उपेक्षा भएको भनि आएका गुनासोलाई ध्यानमा राखि एकीकरण/समायोजन/प्रवेश हुँदाका बखत स्थापित वाम घटकहरूमा जुन जुन स्तरमा कार्यरत रहेको थियो सोही स्तरमा समायोजन गर्ने र गैरवाम घटकहरूबाट पार्टी प्रवेश हुँदा सम्बन्धित पार्टी समितिहरूको निर्णय अनुसार समायोजन गर्ने निश्चित गरिएको छ।’

मंसिर २८ गते बसेको पार्टी स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ ले उपनिर्वाचनको परिणामले माओवादीको पक्षमा जनमत बढेको पुष्टि भएको बिफ्रिङ गरेका थिए । ४४ स्थानका लागि भएको उपनिर्वाचनमा माओवादीले ११ स्थान जितेको थियो।